• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    खालिदा जियाका छोरालाई मोदीले पठाए समवेदना पत्र, बंगलादेशसँग सम्बन्ध सुधारको पहल

    558
    SHARES



    काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानलाई व्यक्तिगत सन्देश पठाउँदै छिमेकी देशसँग सम्बन्ध सुधार गर्न चाहेको संकेत गरेका छन्।

    रहमानकी आमा तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनपछि पठाएको समवेदना पत्रमार्फत मोदीले यो कूटनीतिक पहल गरेका हुन्।

    गत वर्ष सत्ताच्यूत भएर हाल भारत निर्वासनमा रहेकी प्रधानमन्त्री शेख हसिनाको सरकारबाट जोगिन १७ वर्षदेखि बेलायत निर्वासनमा रहेका रहमान गत साता बंगलादेश फर्किएर आमा जियाको नेतृत्वमा रहेको पार्टीको नियन्त्रण सम्हालेका थिए।

    मोदीले मंगलबार लेखेको समवेदना पत्र जियाको अन्त्येष्टिमा सहभागी हुन ढाका पुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले रहमानलाई बुधबार हस्तान्तरण गरेका छन्। उक्त पत्रमा मोदीले जियाको नेतृत्वको प्रशंसा गर्दै बंगलादेशसँगको सम्बन्ध पुनः सुदृढ हुनेमा आफू आशावादी रहेको बताएका छन्।

    ‘मलाई विश्वास छ, तपाईंको बंगलादेश नेसनलिस्ट पार्टीको सक्षम नेतृत्वमा उहाँका आदर्शहरू अगाडि बढ्ने छन्। यसले भारत र बंगलादेशबीच गहिरो तथा ऐतिहासिक साझेदारीको नयाँ सुरूआत सुनिश्चित गर्न मार्गदर्शन गरिरहनेछ,’ मोदीले पत्रमा लेखेका छन्।

    हसिना सरकारलाई मोदीले लामो समयदेखि काँध हालेको र सत्ताच्यूत भएपछि उनले भारतमा शरण लिएकाले बंगलादेशी जनता भारतसँग रूष्ट छन्। नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएदेखि नै दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको छ।

    हसिनाको मुद्दा हेर्न बनाइएको विशेष न्यायाधीकरणले नोभेम्बरमा मानवताविरूद्ध अपराध कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। हसिना भारत भागेदेखि नै उनलाई सुपुर्दगी गर्न बंगलादेशले आग्रह गरिरहेको छ।

    केही समयअघि बंगलादेशका विद्यार्थी नेता तथा इंकलाब मञ्चका संयोजक शरीफ उस्मान हादीको हत्या भएपछि दुई देशको सम्बन्धमा अझै तनाव बढेको छ। उक्त हत्यामा भारतको संलग्नता रहेको र हत्यारा भागेर भारतमा शरण लिएको आरोप लगाइएको छ।

    त्यसपछि भारतको रिसले अल्पसंख्यक हिन्दुमाथि आक्रमण भएको भनेर भारतमा बंगलादेशविरूद्ध प्रदर्शन भएका छन्। यस्तो बेला जियाको निधनमा समवेदना पत्र पठाउँदै मोदीले सम्बन्ध सुधारको पहल गरेका हुन्।

    आगामी फेब्रुअरीमा हुने निर्वाचनमा हसिनाको अवामी लिगलाई प्रतिबन्ध लगाइएकाले बिएनपीले जित्ने अपेक्षा गरिएको छ। बिएनपीले चुनाव जिते भर्खरै लन्डनबाट फर्किएका जियाका जेठा छोरा तारिक रहमान प्रधानमन्त्री हुने बलियो सम्भावना छ। त्यसैले मोदीले रहमानलाई पत्र पठाएर कूटनीतिक पहल थालेका हुन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ