• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रमेश लेखकको बयान : भदौ २४ को घटना क्षणिक आक्रोश मात्र थिएन, सुनियोजित हमला थियो

    0.9K
    SHARES



    काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २४ गते भएका हिंसात्मक घटनालाई जेनजीको भावना विपरीतका घटना भनेका छन्। जाँचबुझ आयोगमा बयान दिएर आएपछि पत्रकार सम्मेलनमा बोल्दै उनले भदौ २४ को घटनामा घुसपैठ भएको बताए।

    ‘मेरो राजीनामापछि भदौ २४ गतेका दिन जे जस्ता हिंसात्मक एवम् राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्र विरुद्धका घटना भए, ती कुनै देशभक्त नेपालीले कल्पना गर्न सक्ने कुरा थिएनन्। राष्ट्रका प्रमुख निकायहरू सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति भवन सहित राज्यका तीनै प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलाएर खरानी बनाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना गर्न सक्दिनँ,’ उनले भने।

    उनले लोकतन्त्र प्रतिनिधि संस्थाहरूमाथि भएको आक्रमण जेनजी पुस्ताको सोच र योजनाभन्दा बिल्कुल बाहिरको विषय भएको बताएका छन्।

    ‘यो नियोजित षडयन्त्र नै थियो। यो राष्ट्र र लोकतन्त्र माथिको नियोजित आक्रमण हो भन्ने मेरो ठम्याइ छ,’ उनले भने, ‘देशभरका सरकारी कार्यालय, प्रहरी कार्यालय, विभिन्न राजनीतिक दलका कार्यालय, व्यावसायिक एवं व्यापारिक प्रतिष्ठान तथा कार्यालयहरू र छानी छानी व्यक्तिका निजी सम्पत्तिमा आगो लगाएर खरानी बनाइयो। नेपालको इतिहासमा एकै दिन यति ठूलो क्षति कहिल्यै भएको थिएन।’

    ‘देशभर एकसाथ भएको यो विनाश तत्कालीन घटनाबाट उत्पन्न रिस र आवेगको उपज मात्र थियो भन्ने आधार म देख्दिनँ। भविष्यमा यसका सत्य, तथ्य खुल्दै जालान्। पूर्व तयारीका साथ सुनियोजित रूपले गरिएका आक्रमण, तोडफोड र आगजनीका घटना क्षणिक आक्रोश र आवेगमा हुनै सक्दैनन्। राज्यका अमूल्य तथा महत्त्वपूर्ण अभिलेखहरु समाप्त गरेर र राष्ट्रिय संरचनाहरूलाई भग्नावशेष बनाएर भविष्यमा पनि कुनै शासन व्यवस्था अघि बढ्न सक्ने कुरा होइन। त्यस कारण ती आक्रमण सुनियोजित र योजनाबद्ध थिएनन्, होइनन् भनेर मेरो मनले स्वीकार गर्न सकिरहेको छैन,’ उनले भने।

    जेनजी पुस्ताको असल मनोभावनामा घुसपैठ भएर जसरी जे जस्ता दुःखद् घटना भए र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनाहरू माथि जसरी आक्रमण भए, त्यो तत्कालीन आवेगको उपज थियो भन्नु ती पवित्र मनोभाव भएका युवाहरूप्रति नै अन्याय हुने पूर्वमन्त्री लेखकको भनाइ छ।

    ‘त्यसैले भदौ २४ गतेका घटनालाई युवाको मागभन्दा पृथक ढंगले हेर्नुपर्छ र आपराधिक कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्छ भन्ने म ठान्छु। आयोगले प्रदर्शनमा कसले कसरी घुसपैठ गर्यो भन्ने विषयलाइ पनि अत्यन्त सूक्ष्म ढंगले अनुसन्धान गर्न आवश्यक छ । आयोगले वर्तमान र भविष्य दुवैका लागि यस विषयमा गम्भिरतापूर्वक हेर्नेछ भन्ने मेरो विश्वास छ,’ उनले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ