चितवन । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले अहिलेसम्म आफूले कमाएको प्रतिष्ठा दाउमा राखरै भए पनि पार्टी खोलेर अगाडि बढेको बताएका छन् ।
उज्यालो नेपाल पार्टीको चितवन भेलालाई आज भरतपुरमा सम्बोधन गर्दै कुलमानले कतिपय मान्छेले आफूलाई राजनीति नगर्न सुझाव दिएको भए पनि राजनीति पार्टीबाट नै देशलाई अगाडि बढाउने सोचले राजनीतिमा होमिएको बताए ।
उनले विद्युत् प्राधिकरणमा बसेर आर्जन गरेको ख्याती राजनीति गर्दा गुम्न सक्ने भन्दै आफ्ना शुभेच्छुकले राजनीति नगर्न सम्झाएको स्मरण गरे ।
उनले देशमा ठूला भनिएका राजनीतिक पार्टीले परिवर्तनमा भूमिका खेले पनि सुशासन र भष्ट्राचार नियन्त्रणमा भूमिका खेल्न नसक्दा जनतामा आक्रोश आएको बताए । उनले आफूले अन्य कुनै पनि राजनीतिक दल र तिनका नेताविरुद्ध गाली गलौज र अनावश्यक लान्छाना लगाएर कहिल्यै नबोल्ने बताउँदै कुलमानले आफ्नाविरुद्ध विभिन्न षडयन्त्र गरेर बदनाम गराउने प्रयत्न सुरु भएको बताए ।
उनले नयाँ राजनीतिक दलहरूका बीचमा आगामी चुनावमा सहकार्य गर्न अझै सकिने भन्दै उनले अबको चुनावमा जनताले सही पार्टी र नेता छान्ने अवसर आएको बताए । पुराना राजनीतिक दलमा पनि राम्रा र असल मान्छेलाई जनताले जिताउनुपर्ने उनको धारणा छ ।
नयाँ पार्टीहरूका बीचमा एकता गर्दा कुनै पनि स्वार्थ राख्न नहुने भन्दै कुलमानले आज मिल्ने तर भोलि नै फुट्ने एकता नगरिने प्रष्ट पारे ।
प्रतिक्रिया