काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँझबुझ गर्न गठित आयोगले एक महिना म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीेसँग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका हुन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा जाँचबुझ आयोग गठन भएको थियो । आयोगको म्याद तीन महिना तोकिएको थियो । म्याद सकिन लाग्दा पनि बयान लिने क्रम नै जारी रहेकाले आयोग पदाधिकारीहरुले थप समय माग गरेका छन् ।
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगलाई काम गर्न केही समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए ।
जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको पनि उनले बताए । त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री लगायत राजनीतिक दलका नेताहरुलाई बयानमा बोलाउने तयारी भएको जानकारी पनि दिए ।
जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ ।
प्रतिक्रिया