• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    ट्रम्पले दबाब बढाइरहँदा भेनेजुएलाका राष्ट्रपतिलाई पुटिनको फोन

    535
    SHARES



    काठमाडौँ । अमेरिकाको चर्को दबाब खेपिरहेका भनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिफोन संवाद गरेका छन्।

    बिहीबार पुटिनले मदुरोसँग कुराकानी गरेको क्रेमलिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। टेलिफोन संवादमा पुटिनले भेनेजुएलाको सार्वभौमसत्ता,अखण्डता र मुलुकको हितका लागि लागि राष्ट्रपति मदुरोले लिने नीतिमा समर्थन रहने बताएका हुन्।

    रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले वाशिङटनलाई संभावित ठूलो संकटबाट जोगिन आग्रह गरेकी छन्। ‘हामी आशा गर्छौं कि ह्वाइट हाउसले परिस्थितिलाई पूर्ण द्वन्द्वमा पुग्नबाट रोक्नेछ। यस्तो अवस्था पश्चिमी गोलार्धकै लागि अनिश्चित परिणाम निम्त्याउन सक्छ,’ उनले भनेकी छन्।

    बेलारूसका प्रधानमन्त्री अलेक्जेन्डर लुकासेन्कोले पनि पछिल्लो परिस्थितिबारे रूसका लागि भेनेजुएलाका राजदूत जिसस रफायल सलान्जर वेलाज्क्वेजसँग भेटवार्ता गरेका छन्।

    अमेरिकाले विभिन्न तरिकाले चर्को दबाब दिइरहँदा मदुरोका लागि सत्ता र देश छाड्नु बाहेकको विकल्प साँघुरिँदै गएको भनेर यसअघि नै रोयटर्स लगायतका सञ्चारमाध्यमहरूले लेखेका थिए।

    अमेरिकाले सेना पठाएरै आक्रमण गर्न सक्ने भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार सार्वजनिक कार्यक्रममा भनेपछि मदुरो अताल्लिएका थिए।

    उनले आफ्नो सुरक्षा व्यवस्था पनि कडा बनाएका छन्। मदुरोले दुई वर्षपछि सत्ता त्याग्ने प्रस्ताव अमेरिकाले अस्वीकार गरिसकेको छ। यस्तो अवस्थामा उनले चाँडै नै देश छाड्नुपर्ने हुनसक्ने भनेर रोयटर्सले लेखेको छ।

    त्यसकारण रूस र बेलारूसका राष्ट्रप्रमुखहरूले उनको सम्भावित शरणबारे पनि कुरा गरेको हुनसक्ने रोयटर्सले लेखेको छ। यसबारे दुवै पक्षका अधिकारीहरूले भने प्रतिक्रिया दिएका छैनन्।

    ट्रम्पले अगस्ट महिनाको अन्त्यतिर दक्षिणी क्यारेबियन क्षेत्रमा शक्तिशाली पनडुब्बी र युद्धपोतहरू पठाएका थिए। दक्षिणी क्यारेबियन क्षेत्रबाट भेनेजुएला एकदमै नजिक पर्छ। यति धेरै अमेरिकी शक्ति यो क्षेत्रमा आएपछि राष्ट्रपति मदुरो आत्तिएका छन्।

    अमेरिकाले भेनेजुएलाका लागुऔषध तस्करमाथि प्रहार गर्न अहिले त्यति ठूलो संख्यामा सैनिक र युद्धपोत पठाउनु नपर्ने भएकाले पनि मदुरो सशंकित छन्।

    अमेरिकाले अगस्टमै मदुरोको लागुऔषध तस्करसँग सम्बन्ध रहेको भन्दै उनलाई पक्रिन सहयोग गर्नेलाई दिइने पुरस्कार दोब्बर पारेर पाँच करोड डलर पुर्‍याएको थियो।

    मदुरो र उनको सरकारले भने सबै आपराधिक आरोप अस्वीकार गर्दै आएका छन्। उनीहरूको भनाइमा अमेरिका भेनेजुएलाको विशाल प्राकृतिक स्रोत–साधन, विशेषगरी तेल कब्जा गर्न मदुरोलाई सत्ताच्यूत गराउन खोजिरहेको छ।

    रोयटर्सका अनुसार मदुरोले आफू र आफ्नो परिवारलाई पूर्ण कानुनी माफी दिइयो भने देश छाड्न तयार रहेको ट्रम्पसँगको फोनकलमा बताएका थिए। यसमा सबै अमेरिकी प्रतिबन्ध हटाइने, आफूमाथि अन्तर्राष्ट्रिय अपराध न्यायालयमा चलिरहेको मुद्दा खारेज गर्ने लगायत छन्।

    उनले १०० भन्दा बढी भेनेजुएलाली सरकारी अधिकारीमाथिका प्रतिबन्ध पनि हटाइदिन माग गरेका छन्, जसलाई अमेरिकी पक्षले मानवअधिकार दुरूपयोग, लागुऔषध कारोबार वा भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै आएको छ।

    मदुरोले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई नयाँ निर्वाचनअघि अन्तरिम सरकार चलाउन दिने माग पनि गरेका थिए। पन्ध्र मिनेटभन्दा कम चलेको कलमा ट्रम्पले मदुरोका अधिकांश माग अस्वीकार गरे। तर उनले मदुरोलाई आफूले चाहेको कुनै पनि देशमा परिवारसहित जान एक साताको समय दिएको स्रोत बताउँछ।

    ट्रम्प प्रशासनले सन् २०१३ देखि सत्तामा रहेका मदुरोलाई भेनेजुएलाको वैध राष्ट्रपति मान्दैन। गत वर्ष भएको राष्ट्रिय निर्वाचनमा मदुरोले जित दाबी गरेका थिए, तर अमेरिकासहित पश्चिमी देशहरूले त्यो निर्वाचनलाई ‘धाँधलीयुक्त’ भन्दै अस्वीकार गरेका थिए। स्वतन्त्र पर्यवेक्षकहरूले पनि विपक्षी पक्षले नै ठूलो मतान्तरले जितेको बताएका थिए।

    मदुरोले अझै सुरक्षित मार्गबारे नयाँ प्रस्ताव ल्याउन सक्ने–नसक्ने कुरा स्पष्ट छैन। एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार ट्रम्पले आफ्ना शीर्ष सल्लाहकारहरूसँग भेनेजुएलामा दबाब बढाउने योजनाबारे पुनः छलफल गरेका छन्।

    दोस्रो कार्यकाल सम्हालेपछि ट्रम्पले फेब्रुअरीयता नौवटा ल्याटिन अमेरिकी लागुऔषध तस्कर समूहलाई विदेशी आतंकवादी संगठन घोषणा गरेका छन्। त्यसमध्ये दुइटा भेनेजुएलाका हुन्। तीमध्ये एउटा मदुरोको प्रत्यक्ष निर्देशनमा चल्ने अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’ ले लेखेको छ।

    यस्तो परिस्थितिमा मदुरोको सत्ता पल्टाउन ट्रम्पले ठूलो संख्यामा सेना र युद्धपोत पठाएका हुन सक्ने विश्लेषण गरिएको छ। सेना र युद्धपोत देखेर मदुरो डरले देश छाडेर भागून् भन्ने मनसाय पनि उनको हुन सक्छ। अमेरिकाले विगतमा त्यस्तो कदम चालेकाले पनि मदुरोलाई सशंकित पारेको छ।

    सन् १९८९ मा राष्ट्रपति जर्ज एच डब्लु बुसका पालामा पानामाका तत्कालीन सैनिक शासक जनरल मानुएल नोरिएगालाई सत्ताच्यूत गर्न अमेरिकाले पानामामाथि आक्रमण गरेको थियो। अहिले मदुरोलाई जस्तै नोरिएगालाई पनि अमेरिकामा लागुपदार्थ पैठारी र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ