काठमाडौँ । अध्यागमन विभागले नेपाल भित्रिने विदेशी नागरिकहरूको तथ्याङ्क व्यवस्थित ढंगले सङ्कलन, अभिलेखन र विश्लेषण गर्नका लागि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटकहरूको सुरक्षा सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवर्द्धन र अपराध नियन्त्रणका लागि यो प्रणाली लागू गर्न लागिएको जानकारी दिएका छन्।
उनले मुलुकमा प्रवेश गर्ने विदेशी नागरिकको गतिविधि र आवाससम्बन्धी विवरण राज्यलाई अनिवार्य रूपमा थाहा हुनुपर्ने भन्दै आगामी जनवरी १ (२०८२ पुस १८) देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू हुने बताए।
महानिर्देशक तिवारीका अनुसार, जसरी हरेक नेपाली नागरिकको अवस्थाबारे राज्यलाई थाहा हुनुपर्छ, त्यसरी नै नेपाल आउने विदेशी नागरिकहरूको अवस्थाबारे पनि जानकारी हुन आवश्यक छ। जनवरी १ देखि कुनै पनि विदेशी नागरिक नेपाल आएपछि उनीहरूको ‘एकोमोडेसन’ (आवास) अनिवार्य घोषणा गर्नुपर्नेछ।
यस्तै, होटल एसोसिएसन नेपाल (हान) का महासचिव साजन शाक्यले भने जनवरी १ देखि नै यो प्रणाली कार्यान्वयन गर्न कठिन हुने बताउँदै थप समय आवश्यक पर्ने उल्लेख गरे। उनले तारे होटलहरूमा लागू गर्न सहज भए पनि सरकारी नीतिबारे पर्याप्त छलफल पुग्न नसकेको बताए।
प्रतिक्रिया