काठमाडौँ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । प्रदेश सभामा पदीय आचरण विपरीत काम गरेको भन्दै उनलाई पदमुक्त गर्ने प्रस्ताव बुधबार दुई तिहाइले पारित भएको हो ।
मधेस प्रदेश सभामा उपस्थित रहेका ७८ प्रदेश सभा सदस्यहरू मध्ये ७६ ले सभामुख मण्डल विरुद्ध दर्ता भएको प्रस्तावको पक्षमा मत दिएका थिए । प्रस्तावको विपक्षमा भने शून्य मत परेको थियो ।
कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले राखेको उक्त प्रस्तावको पक्षमा आएको मत, प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमत भएकाले पारित भएको उपसभामुख बबिता राउत ईशरले घोषणा गरिन् ।
प्रस्ताव दुई तिहाइले पारित भएसँगै सभामुख मण्डल स्वतः पदमुक्त भएको उनले जानकारी गराइन् । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पद अनुसारको आचरण नगरेको भन्दै कात्तिक २७ गते उक्त प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो ।
मधेस प्रदेशमा रहेका विभिन्न दलका ३२ जना प्रदेश सभाका सदस्यहरूले प्रदेश सभाको बैठक बोलाउनका लागि मंगलबार उपसभामुखलाई आग्रह सहितको पत्र बुझाएपछि बुधबार प्रदेशसभा बैठक बोलाइएको थियो ।
प्रतिक्रिया