• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    माडवी हिड्मा : नक्सल आन्दोलनको त्यो आदिवासी अनुहार, जसले युद्धनीति नै बदलिदियो

    2.2K
    SHARES



    काठमाडौँ । भारतको दक्षिण बस्तरका घना जंगलहरूमा वर्षौंदेखि एक नाम फुसफुसाहट जस्तै गुन्जिरहन्थ्यो— हिड़मा। माड़वी हिड़मा— कसैका लागि ‘खूँखार’ माओवादी कमाण्डर, भने स्थानीय युवाहरूका लागि ‘बस्तरको नायक’। हालै सुरक्षा निकायले एक ‘मुठभेड़’मा उनको मृत्यु भएको दाबी सार्वजनिक गरे पनि बस्तरमा उनको कथा अझै वर्षौंसम्म सुनिरहनेछ।

    सन् १९८१ मा छत्तीसगढको सुकमा जिल्ला अन्तर्गत पर्ने पुवर्ती गाउँमा जन्मिएका हिड़मा पनि साधारण ग्रामीण बालकै जस्तै थिए। तर यही गाउँ, जहाँ कम्तीमा दुई दर्जनभन्दा बढी युवा एक समय माओवादी संगठनतर्फ आकर्षित भए, उही बाटोमा उनी पनि अघि बढे— जहाँबाट फर्कने सम्भावना अत्यन्त कम हुन्थ्यो।

    स्थानीय भाषा गोंडी र हल्बी बोल्ने, सात कक्षासम्म अध्ययन गरेका हिड़माले पछि अभ्यास गर्दै हिन्दी र अंग्रेजी समेत सिके। स्थानीय परिवेशको गहिरो समझ र युद्ध रणनीतिबारेको व्यावहारिक अनुभवले उनलाई संगठनका अन्य डिग्रीधारी नेताभन्दा शक्तिशाली बनाइदियो।

    सामान्य लडाकुदेखि केन्द्रीय कमिटीसम्मको यात्रा

    सुरुवाती वर्षमा उनी एक सामान्य लडाकुका रूपमा पहिचानिए। तर वर्ष २००० को आसपास हिड़मालाई माओवादीको ‘हतियार निर्माण शाखा’मा पठाइयो। यहींबाट उनको वास्तविक ‘प्रतिभा’ झल्किन थाल्यो। उनले स्थानीय स्रोतसाधनबाट बन्दुक बनाउन, मर्मत गर्नदेखि लिएर ग्रेनेड र लञ्चर उत्पादनसम्मका नयाँ तरिका विकास गरे।

    एक अधिकारीका अनुसार, २००१ -२००२ तिर उनी दक्षिण बस्तर जिल्ला प्लाटूनमा नियुक्त भए र पछि पीपुल्स लिबरेशन गुरिल्ला आर्मी (PLGA) को सशस्त्र दस्तामा उक्ले। यसै समयमा सलवा जुडूम अभियानका कारण बस्तरका ६४४ गाउँ खाली गरिए, जसले युवाहरूमा प्रतिशोधको भावना बढाएको माओवादीहरूले बारम्बार दाबी गर्दै आएका छन्। यही वातावरणले हिड़मा जस्ता युवाहरू तीव्र गतिमा नेतृत्वमा उठ्न मद्दत गर्यो।

    हिड़माले बदलिदिए नक्सली युद्धका तरिका

    मार्च २००७ मा उरपल मेट्टा क्षेत्रमा भएको आक्रमणमा २४ सीआरपीएफ जवान मारिए— र यसको नेतृत्व हिड़माले गरेको बताइन्छ। यस आक्रमणपछि माओवादीहरूले पहिलोपटक ‘आमने-सामने’को युद्ध रणनीति अपनाएका थिए।

    पुराना माओवादीहरूका अनुसार, हिड़माकै नेतृत्वमा संगठन ‘ल्यान्डमाइन’मा भर पर्ने रणनीतिबाट हटेर प्रत्यक्ष भिडन्तमा उन्मुख बन्यो।

    सन् २००९-०९ मा उनी पहिलो बटालियनका कमाण्डर बने भने २०११ मा दण्डकारण्य स्पेशल जोन कमिटीका सदस्य। यिनै जिम्मेवारीले उनलाई संगठनभित्र प्रभावशाली स्थान दिलायो।

    २६ भन्दा बढी ठूला हमलामा ‘अभियुक्त’

    हिड़मा माथि कम्तीमा २६ ठूला सशस्त्र घटनामा संलग्न रहेको आरोप छ। अप्रिल २०१० को ताड़मेटला आक्रमणमा ७६ जवान मारिए, मार्च २०१७ को अर्को हमलामा १२ जवानको ज्यान गयो। दुवै घटनाको ‘मास्टरमाइन्ड’ हिड़मा नै रहेको स्थानीय प्रहरी अधिकारीहरूको दाबी छ।

    आक्रामक र जोखिमपूर्ण शैलीका कारण चर्चित

    उनकाे साथमा काम गरेका पूर्व माओवादीहरूका अनुसार हिड़मा निकै आक्रामक प्रकारको युद्ध शैली अपनाउँथे। सिकाउन र निर्देशन दिनमा सिपालु, तर लडाइँमा कहिल्यै आफ्ना लडाकुलाई एक्लो नछोड्ने व्यक्ति भनेर वर्णन गरिन्छ। धेरै भिडन्तहरूमा सक्रिय भए पनि उनी कहिल्यै गम्भीर घाइते नबनेको पनि भनिन्छ।

    स्थानीय युवाबीच ‘नायक’ को छवि

    सुरक्षा निकायका अधिकारीहरू भन्छन्— अशिक्षा, गरिबी र दशकौँदेखि बाक्लिएको उत्पीडनको कथामाझ हिड़मालाई माओवादीहरूले ‘न्याय र प्रतिशोध’को प्रतीकका रूपमा युवासामु प्रस्तुत गरे। यही कारण बस्तरका धेरै युवाहरू उनीप्रति आकर्षित भए।

    हाल उनी मारिएको माओवादी तथा सुरक्षा निकायका दाबीहरूबारे धेरै प्रश्न उठिरहेका छन्। तर एक कुरा प्रष्ट छ— हिड़मा बस्तरको जंगलमा जन्मिएको त्यो पात्र हो, जसको कथा धेरै वर्षदेखि बस्तरमा सुनिन्थ्यो र अझै सुनिँदै जानेछ।

    यद्यपि यो कथित ‘न्याय’ वास्तवमा कसैको पक्षमा थियो वा थिएन भन्नेबारे असहमति हुन सक्छ, तर हिड़माको छवि बस्तरका जंगलहरूमा बहसभन्दा पनि भावना बनेर बसेको तथ्य अस्वीकार गर्न सकिँदैन।

    हिड़माको मृत्यु सुरक्षा निकायको दृष्टिले एक ठूलो सफलता मानिएला तर बस्तरका ती धूलाम्य पगडन्डीहरूमा— जहाँ कुनै समय बालबालिकाले उनको कथाहरू सुन्दै हुर्किए, जहाँ वृद्धहरूले एक दुब्लोपातलो बालकलाई ‘खतरनाक कमाण्डर’ बन्दै गरेको आफ्नै आँखाले देखेका थिए— त्यहाँ यो खबर केवल एक व्यक्तिको मृत्यु मात्र होइन, एक युगको अन्त्य जस्तै महसुस भइरहेको छ।

    आकडाहरूको भाषामा हिड़मा केवल एक ‘मोस्ट वान्टेड माओवादी कमाण्डर’ थिए। तर बस्तरका मानिसहरूको नजरमा उनी सधैं जटिल र बहुपक्षीय पात्रका रूपमा रहिरहनेछन्। बीबीसी हिन्दी

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ