• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भोलिदेखि काठमाडौँको फोहोर रोक्ने बञ्चरेडाँडाका स्थानीयको घोषणा

    0.9K
    SHARES



    काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटका स्थानीयले फेरि अवरोध गर्ने घोषणा गरेका छन्।

    सहरी विकास मन्त्री कुलमान घिसिङको प्रतिबद्धता जनाएपनि माग पूरा नभएको भन्दै बञ्चरेडाँडाका स्थानीय बासिन्दाले बुधवारदेखि फोहोर विसर्जनमा पूर्ण रूपमा रोक लगाउने घोषणा गरेका हुन् । आफूहरूलाई धोका भएको भन्दै उनीहरूले यस पटकको आन्दोलन ‘वार कि पार’ हुने बताएका छन् ।

    गत कात्तिक १६ गते सहरी विकास मन्त्री घिसिङ सहितको टोलीले बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरेको थियो । सो छलफलमा मन्त्री घिसिङले स्थानीयका मागहरू १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि फोहोर फाल्न गरिएको अवरोध हटाउन स्थानीय राजी भएका थिए ।

    तर आज मंगलबारसम्म १६ दिन बितिसक्दा पनि मन्त्री र महानगरपालिकाबाट कुनै ठोस काम नभएको भन्दै स्थानीय आक्रोशित भएका हुन् । उनीहरूले मन्त्री घिसिङको प्रतिबद्धता केवल आश्वासन मात्र भएको गुनासो गरेका छन् ।

    ककनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष घननाथ बजगाईँले मन्त्री कुलमान घिसिङले केवल आश्वासन दिएको र वास्तविक समस्या समाधानमा कुनै चासो नदिएको आरोप लगाए ।

    उनले फोहोर र मान्छे एक ठाउँमा बस्न नसक्ने भन्दै समस्याको दीर्घकालीन समाधानका लागि फोहोरमैला प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गरिनुपर्ने बताए । उनले फोहोर विसर्जनमा अवरोध गरेको भन्दै स्थानीयमाथि लगाइएका मुद्दाहरू फिर्ता गरिनुपर्ने पनि बताए।

    वडाध्यक्ष बजगाईँले मेलम्ची खानेपानी आयोजनामा समस्या आउँदा एक अर्ब रुपैयाँ तत्काल छुट्याएर काम गर्न सक्ने सरकारले राष्ट्रिय समस्याको रूपमा रहेको फोहोरमैला व्यवस्थापनमा दुई–चार अर्ब रुपैयाँ छुट्याउन नसकेको भन्दै आपत्ति जनाए ।

    बञ्चरेडाँडाका अर्का स्थानीय अगुवा विश्वास ढुंगानाले पनि मन्त्री घिसिङले स्थानीयलाई झुक्याएको आरोप लगाए । ढुंगानाले फोहोरको थुप्रोमाथि १२–१३ वटा पोल गाडेर मात्र गन्ध र प्रदूषणको समस्या समाधान नहुने बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ