काठमाडौँ । काठमाडौँमा व्यावसायिक भिसामा बसेर ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौँको सोह्रखुट्टे स्थित मिलीजुली चोकबाट उनीहरूलाई अध्यागमन विभागको टोलीले नियन्त्रणमा लिएको हो ।
व्यावसायिक भिसामा बसेर उनीहरुले आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीहरूलाई चिनियाँहरूसँग विवाह गराउने गरेको भेटिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा १ जना महिला र ३ जना पुरुष छन् ।
हाउजिङमा बस्ने उनीहरुको व्यावसायिक भिसा भएपनि आफ्नो व्यवसायबारे उनीहरुले बताउन सकेका छैनन् । आरोपीहरूले नेपाली किशोरीहरुलाई टिकटक बनाउन लगाएर त्यसमार्फत अन्य चिनियाँलाई साथी बनाएर विवाह गर्ने काम ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको निर्देशक ढकालले जानकारी दिए । उनीहरुले केही युवतीहरूलाई विवाह गर्ने भनेर चीन पठाएको विभागको अनुसन्धानबाट थाहा भएको छ ।
पक्राउ परेका दुईजना विगत १० वर्षदेखि पर्यटक, अध्ययन र व्यावसायिक भिसा लिएर नेपाल बस्दै आएको पाइएको छ । गैरकानुनी रुपमा बसेका विदेशी नागरिकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र नेपालबाट निष्कासन गर्ने सक्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया