काठमाडौं। नेपाल र भारतबीच कार्गो रेल सम्पर्क विस्तार गर्ने समझदारी भएको छ। भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र भारतीय समकक्षी पियुष गोयल बीचको बैठकमा यो सम्झौता भएको हो। बैठकले नेपाल–भारत पारवहन सन्धिका प्रावधानहरू संशोधन गर्ने निर्णय गरेको छ।
अब कोलकाता/विशाखापटनमबाट विराटनगर–जोगमनी र कोलकाता/विशाखापटनमबाट नौतनवा (सुनौली) हुँदै भैरहवासम्म रेल र सडकमार्ग मार्फत सबै किसिमका कार्गो ढुवानी गर्न सकिनेछ। यसअघि दुवै नाकाबाट केवल चार प्रकारका बल्क सामान ढुवानी गर्न पाइन्थ्यो। संशोधन पछि सबै प्रकारका कार्गो ढुवानी गर्न सकिने भएको छ।
यसले नेपालको पारवहन लागत घटाउने, ढुवानी समय कम गर्ने र व्यापार सहजीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतका अनुसार, सिन्हाले ३०औं ‘पार्टनरसिप समिट २०२५’ मा सहभागी हुन भारतको विशाखापटनम जाने क्रममा नयाँदिल्लीमा गोयलसँग भेटघाट गरेका थिए।
भेटमा नेपाल–भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, पूर्वाधार विकास र लगानी प्रवर्द्धनका विषयमा व्यापक छलफल भएको थियो। सिन्हाले व्यापार र पारवहन सहजीकरणका लागि ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) प्रमाणीकरण प्रक्रिया सरलीकरण गर्न जोड दिएका थिए।
उनले भारतको **‘छिमेकी पहिला नीति’**को प्रशंसा गर्दै, द्विपक्षीय व्यापार र पारवहन व्यवस्थामा सुधार र लगानी प्रवर्द्धनका लागि दुवै देशले समन्वय अझ उन्नत बनाउनुपर्नेमा बल दिएका छन्। गोयलले नेपाललाई विशेष प्राथमिकतामा राखिएको र बाँकी रहेका संशोधन विषय यथाशीघ्र टुंगोमा पुर्याउन आवश्यक रहेको बताए।
सिन्हा–गोयल बैठकले सम्बन्धित द्विपक्षीय संरचना सक्रिय राखेर सहकार्य प्रवर्द्धन गर्न आवश्यक रहेको पनि जोड दिएको छ। विशेषज्ञहरूका अनुसार, यो संशोधनले नेपाल–भारतबीचको व्यापारिक पहुँच र ढुवानी क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ। नेपालका व्यवसायीहरूले ढुवानी समय र लागत घटेपछि निर्यात–आयात प्रक्रिया अझ सहज हुने अपेक्षा गरेका छन्।
प्रतिक्रिया