काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेश सरकार गठनविरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।
बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कात्तिक ३० गते अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएको हो।
त्यस्तै मुख्यमन्त्री नियुक्ति सम्बन्धी कात्तिक २३ गतेको निर्णयसँग सम्बन्धित सबै कागजातहरू त्यसदिन ल्याउन पनि भनिएको छ। उक्त कागजातहरू भने फिर्ता लैजाने गरी झिकाउन भनिएको छ।
त्यसैगरी यस विषयमा के कस्तो भएको हो भन्ने विषयमा विपक्षी मुख्य न्यायाधिवक्ता कार्यालय मधेस प्रदेशमार्फत १५ दिनभित्र जबाफ पेस गर्न पनि भनिएको छ।
मधेस प्रदेशमा एमालेका सरोजकुमार यादवलाई बर्दीबासको पानस होटलमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्तिपछि शपथ ग्रहण गराएकी थिइन्।
यही विषयमा सर्वोच्चमा अर्को पनि रिट दायर भएको थियो। त्यस रिटमाथि मंगलबार सुनुवाइ गर्दै टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवको सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
प्रतिक्रिया