 
 मुस्ताङ । अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डका आधा दर्जनभन्दा बढी स्थानमा बाढीपहिरो जाँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मका विभिन्न ठाउँमा पहिरो खसेपछि सडक आवागमन रोकिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।
जोमसोम–कागबेनी सडकअन्तर्गत पाण्डा खोलानजिकका तीन स्थानमा पहिरो खस्दा सडक संरचनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। उनका अनुसार जोमसोमदेखि करिब दुई किलोमिटरमाथिको कालोपत्र सडक भासिएर जोखिम बढेको छ।
“निरन्तर वर्षाले जोमसोमदेखि माथि करिब २५ मिटर सडक भासिएको छ,” उनले भने, “सुरक्षा निकायले कामचलाउ रूपमा सडक खुलाउने प्रयास गरे पनि माथिल्लो भागतर्फ सवारी साधन जान रोक लगाइएको छ।” बिहीबार साँझ पाण्डा खोलामा आएको बाढीले सडक संरचनामा थप क्षति पुर्याएको हो। यद्यपि, सुरक्षाकर्मीहरूले जोखिमयुक्त ठाउँमा साना सवारीलाई एकतर्फी रूपमा आवागमन गर्न दिइरहेका छन्।
जोमसोम–कागबेनी सडकखण्डका चार स्थानमा निरन्तर पहिरो खसिरहेकोले मुक्तिनाथ दर्शनका लागि गएका तीर्थयात्रीहरूलाई जोमसोममै रोकिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार पहिरोले एक सार्वजनिक ट्याक्सी क्षतिग्रस्त भएको र एक भारतीय कार सडकमा फसेको छ। फसेको गाडी निकाल्ने प्रयास भइरहेको उनले बताए।
यसैगरी, कागबेनी–छुसाङ सडकखण्डमा पनि आधा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। ताङ्वे–छुसाङबीच पर्ने खोलाको बाढीले कोरला सडकमा क्षति पुर्याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष विनोद गुरुङले जानकारी दिए। उनका अनुसार कागबेनी–कोरला सडक बिहीबार साँझदेखि पूर्ण रूपमा ठप्प छ।
वर्षाका कारण बाटो अवरुद्ध हुँदा अलपत्र परेका १७ जना यात्रुलाई स्थानीय बासिन्दाले बारागुङ–३ स्थित ग्रीन ताङ्वे घरमा सुरक्षित राखेका छन्। वर्षा रोकिएपछि उनीहरूलाई बस्ती नजिक ल्याइने तयारी गरिएको वडाध्यक्ष गुरुङले बताए।
अवरुद्ध सडकको आज बिहान प्रमुख जिल्ला अधिकारी भुसाल, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामासहितको टोलीले स्थल अवलोकन गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जोमसोम–कागबेनी सडक खण्ड मर्मत गरी सञ्चालनमा ल्याउन कम्तीमा दुईदेखि तीन दिन लाग्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया