• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न सङ्खुवासभा प्रशासनको आग्रह

    878
    SHARES



    सङ्खुवासभा । हाल उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात भइरहेकाले सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयले पर्यटक तथा पदयात्रीहरूलाई कात्तिक १५ गतेसम्म यात्रा नगर्न आग्रह गरेको छ। कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै मकालु आधार शिविर र उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रामाथि अस्थायी रोक लगाइएको जनाएको छ।

    प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार मंगलबारदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा निरन्तर वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको हो। “निरन्तर वर्षा र हिमपात भइरहेकाले कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न सबैमा अनुरोध गर्दछौं,” उनले भनिन्।

    प्रजिअ थपलियाका अनुसार चार हजार मिटरभन्दा माथि निरन्तर हिमपात भइरहेकाले चिसो बढेको छ भने खाद्यान्न र अन्य अत्यावश्यक वस्तुको अभाव हुन सक्ने सम्भावना पनि रहेको छ। त्यसैले मकालु आधार शिविर र आसपासका पदमार्गमा हालको अवस्थामा यात्रा नगर्नु सुरक्षित हुने उनको भनाइ छ।

    हाल मकालु आधार शिविर क्षेत्रमा ७० जना विदेशी नागरिकसहित करिब दुई सयभन्दा बढी नेपाली पर्वतारोही रहेका प्रशासनले जनाएको छ। मकालु, सभापोखरीलगायतका उच्च हिमाली भेगमा निरन्तर वर्षा भइरहेकाले पहिरो र सडक अवरोधको जोखिम बढेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक अन्य कारणले यात्रा नगर्न सबैमा अनुरोध गरेको छ।

    त्यसैगरी, पहिरोको जोखिममा रहेका परिवारलाई सचेत रहन र उच्च जोखिम भएका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्लाका १० वटै स्थानीय तहका प्रमुख र जनप्रतिनिधिहरूलाई आग्रह गरिएको छ। प्रशासनले बाढी–पहिरो वा अन्य विपद्को जोखिम देखिएमा तुरुन्त जिल्ला प्रहरी कार्यालय वा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमा जानकारी गराउन पनि अनुरोध गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ