काठमाडौं। देशका विभिन्न भागमा अहिले पनि पश्चिमी वायु र अरब सागरमा बनेको चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस कारण आज पनि देशका थुप्रै स्थानमा वर्षा र उच्च हिमाली भू–भागमा हिमपात हुने सम्भावना रहेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार हाल पश्चिमी वायु सक्रिय रहेका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा दिउँसोभरि बादल लाग्नेछ। तराईका भू–भागमा सामान्य बदली रहनेछ भने कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुन सक्छ।
गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको जनाइएको छ। त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने बताउँदै वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रतर्फ यात्रा गर्नेहरूलाई सतर्क रहन आग्रह गरेको छ। साथै, ती क्षेत्रमा रहेका किसानलाई समेत आवश्यक सावधानी अपनाउन महाशाखाले सल्लाह दिएको छ।
प्रतिक्रिया