काठमाडौं । बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा समेत देखिन सक्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, उक्त प्रणालीको असर कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म रहने अनुमान गरिएको छ।
‘मोन्था’ चक्रवातको प्रत्यक्ष प्रभाव कोशी, मधेस र बागमती प्रदेशमा पर्नेछ। ती प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा हल्का वर्षाको पनि पूर्वानुमान गरिएको छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा मध्यम हिमपात, र कतिपय स्थानमा भारी हिमपात समेत हुन सक्ने चेतावनी दिइएको छ। त्यसका कारण यातायात, पर्यटन र कृषि क्षेत्रमा अवरोध आउन सक्ने अनुमान गरिएको छ।
चक्रवातको प्रभावका कारण बागमती, कमला, कोशी र कन्काई नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ। महाभारत र चुरे हुँदै बग्ने स–साना नदीनालामा समेत आकस्मिक बहाव हुन सक्ने भएकाले नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
प्राधिकरणले सम्भावित जोखिम न्यूनिकरणका लागि सबैलाई निम्न बुँदामा ध्यान दिन आग्रह गरेको छ।
यात्रा नगर्नुहोस्: अत्यावश्यक बाहेकका यात्राहरू स्थगित गर्नु।
सुरक्षित स्थानको जानकारी लिनुहोस्: डुबान हुनसक्ने बस्तीका बासिन्दाले नजिकैको उचाइ र सुरक्षित स्थान पहिचान गर्नु।
बाली भित्र्याउनुहोस्: धान तथा अन्य बाली तत्काल सुरक्षित रूपमा भित्र्याउनु।
सवारी आवागमनमा सावधानी: स्थानीय प्रशासनले तोकेको निर्देशनअनुसार मात्र सवारी सञ्चालन गर्न आग्रह।
नदी किनारका बासिन्दा सचेत रहनुहोस्: जोखिम बढेमा तुरुन्तै सुरक्षित स्थानमा सर्ने।
प्राधिकरणले तीनै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला संस्थाहरूलाई पूर्वतयारी र प्रतिकार्यको अवस्थामा रहन निर्देशन दिएको छ। जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिहरूले आफ्ना क्षेत्रका बासिन्दासँग निरन्तर सम्पर्कमा रहन र सुरक्षासम्बन्धी सूचना तत्काल साझा गर्न भनिएको छ।
प्रतिक्रिया