गुल्मी । गुल्मी जिल्लामा यस वर्षको चाडपर्वको समयमा सवारी दुर्घटनाको संख्या उल्लेख्य रूपमा बढेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दशैं सुरु भएको असोज ६ गतेदेखि कात्तिक ९ गतेसम्मको अवधिमा ५९ वटा सवारीसाधन दुर्घटनामा परेका छन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुका अनुसार उक्त अवधिमा जिल्लाका ४९ स्थानमा साना–ठूला ५९ वटा सवारीसाधन दुर्घटनामा परेका हुन्। ती दुर्घटनामध्ये एक जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।दुर्घटनामा ट्रक, बस, टिपर, कार, एम्बुलेन्स, मोटरसाइकल, स्कुटर, अटो, जीप र ईभीसमेत संलग्न रहेका थिए। तीमध्ये सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चाडपर्वको समयमा यात्रीको अत्यधिक चाप, तीव्र गति, ओभरलोड र लापरवाहीपूर्ण ढंगले सवारी सञ्चालन गरिनु दुर्घटनाको मुख्य कारण बनेको हो। यद्यपि, यस वर्ष जिल्लामा ठूला दुर्घटना घटेका छन्। ट्राफिक प्रहरीको सक्रियता र जनचेतनामूलक अभियानले दुर्घटना नियन्त्रणमा योगदान पुर्याएको प्रहरीको भनाइ छ।
“हामीले चाडपर्वअघि नै सडक सुरक्षा अभियान सञ्चालन गरेका थियौं। विभिन्न स्थानमा चेकजाँच र जनचेतनामूलक कार्यक्रमले दुर्घटना घटाउन सहयोग गरेको छ,” डीएसपी सारुले भने। जिल्ला प्रहरी कार्यालयले चाडपर्व अवधिमा २ दर्जनभन्दा बढी स्थानमा सहायता कक्ष स्थापना गरी यात्रुहरूको सहजीकरण र सुरक्षामा तैनाथ भएको जनाएको छ।
प्रहरीले सवारी चालकहरूलाई गति नियन्त्रणमा राख्न, ट्राफिक नियमको पालना गर्न र यात्रु सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ।
प्रतिक्रिया