चितवन। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहान बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किँदा २० जनाभन्दा बढी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, दुर्घटना बिहान ७:३० बजे भएको हो।
घटनामा मुग्लिनतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना७ख ९६०७ नम्बरको टेलर, त्यसपछि बा प्र ०६–००१ ग ०४८४ नम्बरको इलेक्ट्रिक माइक्रो, त्यसपछि ग२ख १६२६ नम्बरको बस, त्यसपछि ना३च ३२५६ नम्बरको बलेरो र पछाडि बिएबी ८४७० नम्बरको कार ठक्कर खाएका छन्।
घाइतेहरूलाई चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेशनल सिटी अस्पतालमा उपचारका लागि लगिएको छ। घाइतेमध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जना जनता केयर अस्पतालमा उपचाररत छन्।
प्रहरीले थप विवरण जुटाउँदै दुर्घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ।
प्रतिक्रिया