काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश सांसद तथा पूर्व राज्यमन्त्री सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सिंहमाथि ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित सोही रकम बिगो मागदाबी गरेको जनाएको छ।
अख्तियारका अनुसार सिंहले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत उपभोक्ता समितिको खातामा जम्मा भएको रकम झिकाएर आफू र श्रीमती सरिता कुमारी महतो सिंहको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेका थिए। सोही अभियोगमा सिंहसहित १६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।
भ्रष्टाचार मुद्दामा सरोज कुमार सिंहसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी (भन्ने स्वीकृति देवी), रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी पनि प्रतिवादी बनाइएका छन्।
अख्तियारका अनुसार धर्मशाला, मन्दिर सौन्दर्यकरण र सडक स्तरोन्नति जस्ता योजनामा गठन भएका उपभोक्ता समितिहरूको खाताबाट रकम हिनामिना गरिएको पाइएको छ।
धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुना प्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीसँग १ लाख ८५ हजार २६० रुपैयाँ, योगेन्द्र महतो र सुनयना कुमारीसँग ६ लाख ५७ हजार ७ सय रुपैयाँ, रामनाथ सहनी र स्वीकृति देवीसँग २ लाख १४ हजार ३५० रुपैयाँ, रामशरण खत्वे र बिभा देवी खत्वेसँग १ लाख ५० हजार रुपैयाँ, भूपेन्द्र कुमार झा र मञ्जु देवी पासमानसँग क्रमशः १८ लाख ९१ हजार ९ सय र २१ लाख ९३ हजार ८ सय १५ रुपैयाँ बिगो कायम गरिएको अख्तियारले जनाएको छ।
सिंहले आर्थिक वर्ष २०७८/०७९ का लागि मधेस प्रदेश सभाको निर्वाचन क्षेत्र विकास कार्यक्रम (प्रदेश संसदीय विकास कोष) अन्तर्गत विनियोजन गरिएको रकमबाट महोत्तरी क्षेत्र नं. ४ (ख) अन्तर्गत रामगोपालपुर, मनराशिसवा र सम्सीका विभिन्न वडामा गठन भएका उपभोक्ता समितिहरूबाट करिब २८.२५ प्रतिशतका दरले कमिसन लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ।
उक्त योजनाहरू अन्तर्गतका खातामा जम्मा भएको कूल रकम एक करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँमध्ये सिंहले आफ्नो संयुक्त खातामा ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ जम्मा गरी दुरुपयोग गरेको आरोप अख्तियारले विशेष अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ।
प्रतिक्रिया