काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्ने भएको छ।
गत २३ र २४ भदौमा भएका आन्दोलनका क्रममा घाइते भएकाहरूको अवस्था अनुसार वर्गीकरण गर्न मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा एक प्राविधिक समिति गठन गरेको छ।
समितिमा विभिन्न विज्ञसहित १० जना सदस्य छन्। संयोजक डा. शर्माका अनुसार समितिले घाइतेहरूको चोटपटकका आधारमा सामान्य, मध्यम र गम्भीर गरी ग्रेडिङ गर्ने मापदण्ड तयार गर्ने कार्य सुरु गरेको छ।
उनले भने, “विशेषज्ञहरूको टोलीसहित हामीले अध्ययन गरिरहेका छौँ। वर्गीकरणपछि उपचारको प्राथमिकता निर्धारण गर्न सजिलो हुनेछ।” स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेहरूको संख्या दुई हजार ३१६ पुगेको छ।
प्रतिक्रिया