इलाम । अविरल वर्षापछि इलामका विभिन्न ठाउँमा गएको पहिरोले ठूलो जनधन क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार पहिरोमा परेर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी बेपत्ता भएका छन्। यद्यपि, यो संख्या प्रहरीद्वारा आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको इलाम प्रहरीले जनाएको छ।
जिल्लाको मानेभन्ज्याङ, देउमाई र इलाम नगरपालिकाका विभिन्न बस्तीतर्फबाट घरहरू पहिरोले पुरिएको जानकारी आएको छ। तर कठिन भू–भाग र अवरुद्ध बाटोका कारण उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता इन्द्रबहादुर राईले जानकारी दिए।
इलाम नगरपालिका–६ घोसमा गएको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको पुष्टि भएको छ। स्थानीय डम्बरबहादुर पाख्रिनको घर माथिबाट आएको पहिरोले पुरिँदा उनका दुई सन्तानको ज्यान गएको र तीन जना अझै बेपत्ता रहेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।
स्थानीय युवा रेवज तामाङका अनुसार घटनास्थलमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर खोज तथा उद्धार कार्य भइरहेको छ। “माटो अझै खसिरहेकाले उद्धार कार्यमा जोखिम बढेको छ,” तामाङले भने। घाइते दुई जनालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए।
यसैगरी माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता भएका छन्। त्यस्तै सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य हराइरहेका छन् भने माङ्सेबुङ गाउँपालिकामा पनि पाँच जना बेपत्ता भएको प्रहरीको भनाइ छ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याए पनि ठ्याक्कै तथ्यांक संकलन हुन बाँकी रहेको बताइन्। उनका अनुसार, पानी पर्न रोकिएपछि बिहानैदेखि खोज तथा उद्धार कार्य तीव्र रूपमा भइरहेको छ।
उद्धार टोलीले सडक अवरुद्ध भएका कारण धेरै ठाउँमा पैदल पुगेर उद्धार गरिरहेको र आवश्यक परेमा हेलिकोप्टर उद्धारको तयारी पनि भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रतिक्रिया