• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय समाचार

फ्रान्समा सरकारको विरोध गर्दै हजारौं मानिसहरू किन निस्किए सडकमा ?

1.2K
SHARES



काठमाडौँ । फ्रान्समा दसौं हजार मानिसहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्।

राष्ट्रपति इमानुएल म्याक्रों र हालसालै उनले प्रधानमन्त्री बनाएका सेबास्टियन लेकोर्नुको विरोध गर्दै बिहीबार राजधानी पेरिसलगायतका सहरहरूमा हजारौं मानिसहरू सडकमा निस्किएका हुन्।

सरकारले २०२६ को बजेटमा सार्वजनिक खर्च कटौतीको योजनाहरू समावेश गरेपछि फ्रान्समा विरोध सुरू भएको थियो। सरकारको नीतिहरुको विरोधमा भइरहेको प्रदर्शनमा समर्थन बढिरहेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शिक्षक, रेल चालक, फार्मासिस्टदेखि लिएर स्वास्थ्यकर्मीसम्म आफ्नो काम बन्द गरेर प्रदर्शनमा सहभागी भएका थिए। त्यतिमात्रै होइन सयौँ किशोरकिशोरीहरूले विद्यालय अवरुद्ध गर्दै घण्टौंसम्म कक्षा रोकिदिएका थिए।

प्रदर्शनकारी र मजदुर संघहरूले सरकारले ल्याएका कडाइका योजनाहरू खारेज गर्न, सार्वजनिक सेवामा थप खर्च गर्न, धनीमाथि बढी कर लगाउन र पेन्सन पाउने उमेर बढाइएको लगायतका विभिन्न नीति र निर्णय फिर्ता गर्न माग गरेका छन्।

तीबाहेक सार्वजनिक सेवामा बजेट कटौती खारेज गर्न पनि उनीहरूले माग गरेका छन्। देशभर करिब एक तिहाइ प्राथमिक विद्यालयका शिक्षकहरू विद्यालय छाडेर आन्दोलनमा उत्रिएका थिए। क्षेत्रीय रेल सेवामा पनि अवरोध भएको थियो। दक्षिणपूर्वी शहर टुलोन नजिकै प्रदर्शनकारीहरूले राजमार्ग अवरुद्ध गरेर ट्राफिक सुस्त पारेका थिए।

पेरिसमा केही प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि बियरको क्यान र ढुङ्गा फ्याँकेपछि प्रहरीले अश्रुग्यास प्रयोग गर्‍यो। केहीले बैंकहरूमा आक्रमण गर्ने प्रयास गर्दा पनि प्रहरीले हस्तक्षेप गर्‍यो। नान्तेस र ल्योनमा पनि साना झडपहरू भए, ल्योनमा तीन जना घाइते भएको फ्रान्सेली सञ्चारमाध्यमहरूले जनाएका छन्।

गृहमन्त्रालयका अनुसार बिहीबारभर १८० भन्दा बढी मानिस पक्राउ परेका छन्। भिड नियन्त्रणका लागि करिब ८० हजार प्रहरी र सैनिक तैनाथ गरिएको रोयटर्सले जनाएको छ। जसमा दंगा नियन्त्रण टोली, ड्रोन र बख्तरबन्द सवारीसाधन पनि समावेश थिए।

प्रदर्शनमा फ्रान्सकै ठूलो मजदुर संगठन सिजिटी पनि सहभागी छ। सिजिटीकी प्रमुख सोफी बिनेटले महत्त्वपूर्ण विषयमा दृढ संकल्पसहित १० लाख मानिसहरू सडकमा आएको बताइन्। स्थानीय प्रशासनले भने त्यसको आधा मानिसहरू सहभागी भएको आकलन गरेको छ।

पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको थियो। त्यस क्रममा केही मानिसहरू घाइते भएका छन्। गृहमन्त्री ब्रुनो रेताइलेउका अनुसार अपेक्षाकृत शान्त वातावरणमा अधिकांश जुलुस सम्पन्न भएको बताए। ‘लगभग सबै स्थानमा प्रदर्शन अनुकूल वातावरणमै सम्पन्न भयो,’ उनको भनाइ उद्धृत गरेर रोयटर्सले लेखेको छ।

प्रधानमन्त्री लेकोर्नुले आन्दोलित मजदुर संघहरूसँग छिट्टै वार्ता गर्ने बताएका छन्। संसदबाट विश्वास गुमाएपछसि ८ सेप्टेम्बरमा फ्रासोवा ब्यरो प्रधानमन्त्रीबाट हटाइएका थिए। राष्ट्रपति म्याक्रोंले उनको ठाउँमा लेकोर्नुलाई प्रधानमन्त्री बनाएका थिए। उनी अहिले अहिले आगामी वर्षको बजेट र सरकारको रूपरेखा बनाउन दौडधुपमा छन्।
बढ्दो व्यापार घाटा र नागरिकहरू सडकमा निस्कन थालेपछि राष्ट्रपति म्याक्रों र प्रधानमन्त्री लेकोर्नु दबाबमा छन्। फ्रान्सको गत वर्षको बजेट घाटा युरोपेली संघले तोकेको ३ प्रतिशत सीमा भन्दा झन्डै दोब्बर थियो।

घाटा कम गर्न चाहे पनि प्रधानमन्त्री लेकोर्नुलाई संसदीय समर्थन जुटाउन संघर्ष गर्नुपर्ने देखिएको छ। उनको पूर्ववर्ती फ्रान्स्वा बायरुलाई गत साता संसदले ४४ अर्ब युरो बराबरको बजेट कटौती योजना प्रस्ताव गरेपछि पदबाट हटाएको थियो।

लेकोर्नुले भने अहिले सम्म बायरुको योजनाबा केही घोषणा गरेका छैनन् तर सम्झौता गर्ने संकेत गरेका छन् भनेर रोयटर्सले लेखेको छ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ