काठमाडौं । सरकार विरुद्ध मंगलबार सडकमा उत्रिएका जेनजी युवाहरूले विभिन्न स्थानका प्रहरी बिटमा आगजनी र तोडफोड गरेका छन् । राजनीतिक नेताहरूको निजी निवासको खोजी गर्दै हिँडेका युवाले प्रहरी बिट देख्नसाथ आगजनी गरेका हुन् ।
सोमबार जेनजीले सुरु गरेको समाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले कम्तीमा १९ जनाको हत्या गरेपछि युवा आक्रोश झनै बढेको हो । आन्दोलनको दोस्रो दिन मंगलबार देशका मुख्य सहरमा तथा नेताहरूका निजी आवास तथा प्रहरी बिट जलाउँदै नाराबाजी गरिरहेका छन् ।
यसैबीच जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।
उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् । उता मन्त्री र उच्चपदस्थ अधिकारीहरु भने सेनाको ब्यारेकमा लुक्न थालेका छन् । भैसेपाटीबाट केहि मन्त्रीहरुलाई सेनाको ब्यारेकमा लगेर राखिएको स्रोतले संचारकेन्द्रलाई बतायो ।
प्रतिक्रिया