काठमाडौं । काठमाडौं महानगरपालिकाले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा सघाउने भएको छ ।
सोमबार काठमाडौंमा प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।
धेरैजसो घाइतेहरूलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल र महाकालस्थित ट्रमा सेन्टरमा लगिएको छ । अस्पतालमा घाइतेहरूको संख्या बढेपछि बेड अभावका कारण उपचारमा समस्या भएको ती अस्पतालले जानकारी दिएका छन् ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार नगर प्रहरीको टोलीले ती अस्पतालमा पुगेर घाइतेहरूको उद्धार र आवश्यक सहयोग गरिरहेको छ । मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरी खटाइएको उनले जानकारी दिए ।
घाइतेहरूलाई सिभिल र ट्रमामा उपचारका लागि ठाउँ नपुगेको अवस्थामा अन्य अस्पतालमा लैजान नगर प्रहरी खटिने उनले बताए । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर ९ जनाको मृत्यु भएको छ । अहिले पनि प्रदर्शनकारीले माइतीघर, बानेश्वर, तिनकुने क्षेत्रमा प्रदर्शन जारी राखेका छन् ।
प्रशासनले बानेश्वर, मध्यबानेश्वर माइतीघर, शंखमुख क्षेत्रमा कुर्फ्यू आदेश जारी गरेपनि जेन–जी युवाहरूले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन् ।
प्रतिक्रिया