काठमाडौं । आज देशका अधिकांश स्थानमा मनसुन सक्रिय रहने भएकाले मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। अघिल्ला दिनहरूमा चर्को घाम लागिरहेकोमा आज देशभर सामान्यतया बदली हुने भएकाले मौसम शीतल हुने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज धेरैजसो स्थानमा मध्यम वर्षा हुने देखिएको छ। उनका अनुसार भोलि र पर्सि गण्डकीदेखि पश्चिमका भूभागमा पानी पर्न अझ बढी सम्भावना छ।
‘आज देशभर मध्यम वर्षा हुने अनुमान छ,’ दाहालले भने, ‘भोलिदेखि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा बढ्ने देखिएको छ।’ उनले कतिपय स्थानमा भारी वर्षा समेत हुन सक्ने तर त्यो खण्डित रूपमा मात्र हुने बताए।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा समेत हुनसक्ने जनाइएको छ।
यस्तै, आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा र कतिपय पहाडी तथा तराई भूभागमा भारी वर्षा हुने पूर्वानुमान छ।
प्रतिक्रिया