काठमाडौँ । खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनबाट ११ नेपाली श्रमिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्ला चार दिनमा ११ नेपाली श्रमिकको ज्यान गएको हो भने बिरामी अवस्थाका ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कुवेतको साल्मिया क्षेत्रमा रहेका नेपाली र भारतीयलगायत विभिन्न मुलुकका नागरिकले त्यस्तो मदिरा सेवन गरेको पाइएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले २३ विदेशी श्रमिकको मदिरा सेवनका कारण मृत्यु भएको जनाएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मिथानोलयुक्त मदिरा सेवनका कारण १ सय ६० श्रमिक बिरामी परेका छन् । मिथानोल उद्योगमा प्रयोग हुने रसायन भए पनि मदिरामा त्यसको प्रयोग गरेको पाइएको हो ।
पीडित सबै एसियाली मुलुकका श्रमिक छन् । अघिल्लो शनिबारबाटै एकपछि अर्को श्रमिक बिरामी पर्न थालेका थिए । अस्पतालमा भर्ना हुनेको संख्या बढ्न थालेपछि कुवेतको लागूऔषध नियन्त्रण केन्द्र र सुरक्षा एजेन्सीसहितका निकाय सक्रिय भएका थिए । कुवेती स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा ३१ जना बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको उल्लेख छ । त्यस्तै ५१ जनालाई आपत्कालीन मृगौला डायलसिस जारी रहेको भनिएको छ ।
कतिपय आकस्मिक रूपमै अन्धोपनको सिकार पनि भएको जानकारी गराइएको छ । धेरै बिरामीलाई सघन उपचार कक्षमा राखेर चिकित्सकको २४ घण्टे निगरानीमा राखिएको छ । विषाक्त मदिरा कहाँबाट आयो, त्यसको कुवेत सरकारले अनुसन्धान गरिरहेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले जीवन बचाउनका लागि त्यस्तो व्यवहार नगर्न सचेतसमेत गराएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर क्षेत्रीले कुवेतमा भएको घटनाबारे जानकारी प्राप्त भएपछि त्यहाँस्थित दूतावासलाई सक्रिय रहन निर्देशन दिइएको बताए । कुवेतमा रोजगारीका लागि पुगेका १ लाख ६० हजार नेपाली छन् ।
प्रतिक्रिया