काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बाट एकै परिवारका १६ जना सम्पर्कबिहीन भएका छन् ।
गत शुक्रबारदेखि स्थानीय हायु परिवारका १६ जना सम्पर्कबिहीन भएको सूचना आएको सिन्धुलीका प्रहरी उपरीक्षक(एसपी) लालध्वज सुवेदीले बताए ।
साउन ८ मा (बिहीबार) स्थानीय निकायले लोपोन्मुख हायु समुदायले पाउने भत्ता बापतको रकम वितरण गरेको थियो । उनीहरुले प्रतिव्यक्ति ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेका थिए ।
बेपत्ता हुनेमा उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित छन् । उनीहरूको खोजीमा प्रहरी परिचालन गरिएको एसपी सुवेदीले जानकारी दिए । उनले भने, ‘सो क्षेत्रमा विपद्को घटना पनि भएको छ, उहाँहरुको खोजी हुँदै छ ।’
प्रहरीका अनुसार बेपत्ता हायु परिवारले गत बिहीबार (८ साउन) मा घरमै सुँगुर काटेर खाएको पाइएको छ । घर नजिकैको एक छाप्रोमा आगो लगेर निभाइएको जस्तो पनि देखिएको छ । काठहरू डढेका छन् । केही लुगाहरू झुन्डिएको देखिन्छ । पकाउने भाँडाहरू पनि घर बाहिरै देखिन्छ । तर जस्ताले छाएको हायुको घरमा भने कोही छैनन् ।
प्रतिक्रिया