काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, काठमाडौंको पशुपति लगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् ।
यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् । हरेक सोमबारको दिन व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन् । अनि बेलपत्र, धतुरो, विभिन्न फूल, फल लगायतका प्रसाद चढाएर पूजा गर्दछन् ।
यसरी शिवको पूजा गरेमा अटल सौभाग्य प्राप्त हुने, मनोकांक्षा पूरा हुने, पारिवारिक सुख, शान्ति एवं समृद्धि मिल्ने धार्मिक विश्वास छ ।
साउनको पहिलो सोमबारको दिन आज काठमाडौंको पशुपति, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा श्रद्धालुको घुइँचो लागेको छ । उनीहरु लामबद्ध भएर पूजाआजा गरिरहेका छन् ।
पशुपति दर्शन गर्न जानेहरुलाई नि:शुल्क बस सेवा
श्रद्धालुहरुलाई सहज रुपमा पूजाआजाको प्रबन्ध मिलाउने उद्देश्यले पशुपतिनाथका चारै ढोका आज बिहान तीन बजेदेखि नै खुला गरिएको थियो । पशुपति क्षेत्र विकास कोषले आज दिनभर पाँच लाख भक्तजन मूल मन्दिर प्रवेश गरेर दर्शन गर्ने पूवानुमान गरेको छ ।
कोषले यस वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन गर्न आउनेका लागि चक्रपथमा नि:शुल्क बसको व्यवस्था गरेको छ । चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने कोषले जनाएको छ । यो सेवा साउनका चार वटै सोमबार निरन्तर रहने जनाइएको छ ।
पशुपतिमा आउने भक्तजनका लागि मारवाडी समाजले नि:शुल्क भोजनको व्यवस्था मिलाएको छ । यो व्यवस्था सोमबार बाहेकका दिन पनि निरन्तर हुने समाजले जनाएको छ ।
प्रतिक्रिया