काठमाडौँ । गजामा मानवीय सहायता लिनका लागि उपस्थित भएका मानिसहरूमाथि इसराइली सेनाले अन्धाधुन्ध गोली चलाएको छ।
आइतबार उत्तरी गजामा मानवीय सहायतको पर्खाइमा रहेकाहरूमाथि इसराइली सेनाले अन्धाधुन्ध गोली चलाउँदा ८५ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपी न्युजले लेखेको छ।
पछिल्लो केही दिन यता गजामा भोकमरीले मानिसहरूको अवस्था विकराल छ। मानवीय सहायता पर्याप्त मात्रामा पुर्याउने अवस्था नरहेको परिस्थितीमा गजामा हजारौं मानिसहरू भोकमरीले आक्रान्त रहेको गजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
‘शरीर सुकेर हड्डी मात्र बाँकी भएका सयौं नागरिकहरू भोककै कारण तुरुन्तै मृत्युतिर गइरहेका छन्,’ गजाको स्वास्थ्य मन्त्रालयले भनेको छ।अत्यन्त न्यून परिमाणमा मानवीय सहायता गजा पुग्ने गरेको छ।
विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूले गजामा पर्याप्त मात्रामा मानवीय सहायता पुर्याउन तयार रहेको बताए पनि इसराइली सेनाले निश्चित परिमाणमा मात्रै गजामा मानवीय सहायताका सामग्री बोकेका ट्रकहरूलाई प्रवेश दिने गरेको छ।
मानवीय सहायता वितरणका लागि पनि निश्चित ठाउँ तोकिएको छ। ती ठाउँहरूमा मानिहसहरूको ठूलो भिड लाग्ने गरेको र भिड अनियन्त्रित हुन थालेपछि इसराइली सेनाले गोली चलाउने गरेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उत्तरी गजामा आइतबार ८५ जनाको मृत्यु भएको घटना मानवीय सहायता वितरण क्रममा हताहती भएको अहिलेसम्मकै ठूलो घटना हो। पछिल्लो केही दिन यता गजामा मानवीय सहायता लिन उपस्थित भएका भिडमा गोली चल्ने क्रम बढेको छ।
शनिबार पनि ३६ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। आइतबार अर्कै ठाउँमा मानवीय सहायता लिन उपस्थित भएका ६ जना पनि इसराइली सेनाको गोली लागेर मारिएका थिए।
मानवीय सहायता लिएर गएको ट्रक देख्ने बित्तिकै मानिसहरू त्यसलाई घेर्न थाल्छन्। भोका पेटहरू गोलीको परवाह नगरी दौडिने र ट्रकलाई घेर्न थाल्छन्। अनियन्त्रित भिडले ट्रक घेर्न थालेपछि सेनाले भोकाएका मानिसहरूमाथि गोली चलाउने गरेको रोयटर्सले लेखेको छ।
इसराइली सेनाले भने गजाको स्वास्थ्य मन्त्रालयको उक्त विवरण झुटो रहेको बताएको छ। मृतकको संख्या बढाइचढाइ गरिएको सेनाले बताएको छ।
गाजा निवासीहरूका अनुसार पिठो जस्ता आधारभूत खानेकुरा पनि उपलब्ध छैनन्। स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरुदेखि हालसम्म ७१ बालबालिकाको भोकले मृत्यु भइसकेको छ भने झन्डै ६० हजार बालबालिकामा कुपोषण देखिएको छ। भोककै कारण आइतबारमात्र १८ जनाको मृत्यु भएको जनाइएको छ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनआरडब्ल्यूए)ले गजामा सहायता पुर्याउन दिन इसराइललाई आग्रह गरेको छ। उसले तीन महिनासम्म गजावासीलाई पुग्ने खाद्यान्न आफूसँग मौज्दात रहेको र त्यो वितरण गर्ने परिस्थिती बनाइदिन आग्रह गरेको रोयटर्सले जनाएको छ।
‘हामीसँग तीन महिनाका लागि पुग्ने खाद्यान्न मौज्दात छ, तर प्रवेशको अनुमति छैन,’ उसले भनेको छ। इसराइलले मानवीय सहायता प्रवेशलाई अत्यन्त गम्भीरताका साथ लिएको र अन्तर्राष्ट्रिय समुदायसँग समन्वयमा गरिरहेको दाबी गरेको छ।
इसराइल र हमासबीच युद्धविरामका लागि कतारमा अप्रत्यक्ष वार्ता भइरहेको छ। हमासले गजामा भोकाहरूको हत्या क्रम नरोकिए युद्धविराम बिथोलिने चेतावनी दिएको छ।
प्रतिक्रिया