देउखुरी । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना र नदीमा डुबेर २/२ जनाको मृत्यु भएको हो ।रामपुर–घोराही सडकखण्डको सिस्ने खोलामा मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक छन् । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।
रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा७प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा बेलुका ७ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुवै जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।
यसैगरी सोमबार नै बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ । बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ निवासी १७ वर्षीय विधान केसी र सोही ठाउँका १६ वर्षीय कुशल बुढामगर रहेका छन् ।
साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नदीमा डुबेको हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीले जानकारी दिए । शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया