ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने कार्य तत्काल रोक्न माग गरेको छ । आदिवासी उत्पीडित जाति लिम्बू समुदायको असहमति र विरोधको बाबजुद पनि बल प्रयोगको माध्यमबाट दलाल पुजिपतीहरुले केवलकार निर्माण प्रक्रिया अगाडि सारेको भन्दै बहुमतले यस प्रक्रियासँग असहमति राख्दै खेद व्यक्त गरेको छ ।
बहुमतका ताप्लेजुङ जिल्ला इन्चार्ज मिसकले एक विज्ञप्ति जारी गर्दै फुङ्लिङस्थित मुक्कुमलुङ पहाड केवल पहाड मात्र नभई आधुनिक नेपाल राज्य बन्नुअघिको लिम्बुवान र लिम्बू समुदायको ऐतिहासिक मुन्धुमी धरोहर पनि रहेको भन्दै यसलाई संरक्षण र सम्बर्द्धन गर्नु अनिवार्य रहेको बताएका छन् ।
उनले दलाल पुजीवादी राज्यसत्ताको आडमा केहि थान दलाल पुजिपतीहरु निजि फाइदाको लागी सिङ्गो लिम्बू समुदायको उक्त ऐतिहासिक मुन्धुमी धरोहर नामेट गरि बिकासको नाममा कथित केवलकार बनाउने दुस्साहस गरिरहेको भन्दै यस्तो कार्य तत्काल रोक्न माग गरेका छन् ।
साथै सरकारले पाथिभरा क्षेत्रमा आफ्नो ऐतिहासिक मुन्धुमी धरोहर र पर्यावरणको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका लिम्बू लगायत अन्य उत्पीडित जातीय समुदायमाथि हिंसात्मक दमन गरिरहेको भन्दै यस प्रकारको राज्यआतंकप्रति बहुमतले घोर भत्सर्ना गरेको छ ।
सिद्धान्तत,बन्दुकको आडमा गरिने दमनले किन्चित समाधान दिन नसक्ने र आज शान्तिपूर्ण आन्दोलन गरिरहेका मानिसहरूले आवस्यक महसुस गरे बन्दुक बोक्न पनि सक्नेतर्फ बहुमतले सरकारलाई सचेत गराएको छ । साथै दमन रोकेर घाइतेहरुको उपचार गरी पक्राउ गरिएकाहरुको बिनासर्त रिहाईको माग समेत बहुमतले गरेको छ ।
त्यस्तै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेको छ । ‘अत हाम्रो पार्टी नेकपा(बहुमत)सम्पुर्ण उत्पीडित जातीय समुदायको अधिकारको पक्षमा रहेको छ । उनिहरुको स्वायत्तता,स्वशासन र आत्मनिर्णयको अधिकार सहित संघात्मक राज्यप्रणालीको दृढ पक्षमा छ । मुक्कुमलुङको पक्षमा छ । पहिचानको पक्षमा छ । तर बुझ्नुपर्ने कुरा के छ भने विद्यमान दलाल पुजीवादी राज्यसत्ता यसको खिलापमा छ । सरकार यसको खिलपमा छ । त्यसकारण सामान्य स्तरबाट गरिने आन्दोलनबाट अधिकार स्थापित गर्न सकिदैन । बरु थप गुम्ने खतरा रहन्छ । यसर्थ अबको संघर्ष दलाल पुजीवादी सत्तालाई नै अन्त्य गरेर सर्वाङ्गिण अधिकार स्थापित हुने बैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नसक्ने संघर्षलाइ अगाडि बढाउन आवस्यक छ ।’ विज्ञप्तिमा भनिएको छ ।
आदिवासी उत्पीडित जातिहरुको अधिकार सुनिश्चित गर्न बैज्ञानिक समाजवाद स्थापनार्थ हुने राजनैतिक संघर्षमा केन्द्रीकृत हुन सम्पुर्ण उत्पीडित जातीय समुदायलाई बहुमतले आव्हान गर्दै मुक्कुमलुङ रक्षा आन्दोलनप्रति एक्यवद्धता व्यक्त गरेको छ ।
मुक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुको बिरोधलाई व्यवस्ता गर्दै निर्माण पक्षले बल प्रयोग गर्न कोसिस गर्दा सोमबार त्यहाँ झडप भएको थियो । झडपका क्रममा स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।
प्रतिक्रिया