काठमाडौं। पूर्वेली न्यूज डटकममा कार्यरत सञ्चारकर्मी संजिता धमलामाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले धमलालाई सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आफ्नै कार्यकक्षमा बोलाएर अपमानित ढंगबाट दुर्व्यवहार गर्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर पक्राउ गरिएको घटनाप्रति महासंघले आपत्ति जनाएको हो ।
असार २१ गते शुक्रबार आफ्नै कार्यकक्षमा बोलाएर नगर प्रमुख राईले सार्वजनिक सुनवाई कार्यक्रममा आफूअनुकूल प्रश्न नसोधेको तथा प्रश्न सोधेकै आधारमा सञ्चारकर्मी धमलालाई अपमानित ढंगले आफ्नो कार्यकक्षबाट बाहिर निकाल्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर लछारपछार गर्दै पक्राउ गराएका थिए ।
सो क्रममा नगर प्रमुख राईकै निर्देशनमा नगर प्रहरी र नेपाल प्रहरीले सत्यतथ्य नबुझी सञ्चारकर्मी धमलामाथि हमला गर्दा धमलाको चस्मा फुट्नुका साथै शरीरका विभिन्न भागमा चोटपटकसमेत लागेको नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले जनाएको छ ।
‘सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्ति र प्रहरीबाट सञ्चारकर्मीलाई गरिएको यो हर्कत अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’ महासंघको जारी विज्ञप्तिमा भनिएको छ ।
प्रेसविरोधी यस्ता हर्कतले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासंघको ठहर छ ।
प्रतिक्रिया