काठमाडौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा बेलायतको लगानी वृद्धिका लागि पहल गर्न नेपालका लागी बेलायती राजदूत रब फेनलाई आग्रह गरेका छन् । परिसंघ सचिवालयमा बुधबार परिसंघ र राजदूत फेनबीच द्विपक्षीय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिवृद्धिमा छलफल भएको थियो । उक्त अवसरमा अध्यक्ष अग्रवालले नेपालमा बेलयती लगानी वृद्धिमा जोड दिएका हुन् ।
उनले नेपालको पूर्वाधार, विद्युत् तथा नवीकरणीय ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भित्र्याउन भूमिका खेल्न आग्रह गरेका हुन् । उनले बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौतामा पनि जोड दिएका छन् ।
परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’लगायत नयाँ कार्यक्रम सुरु गरेकोमा धन्यवाद दिए ।
यसबाट नेपालले महत्वपूर्ण उपलब्धि हासिल गर्ने उनले विश्वास व्यक्त गरे । परिसंघले सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल स्वदेशी’ अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै बेलायती दूतावाससँग सहकार्यका लागि परिसंघ तयार रहेको पनि बताए ।
प्रतिक्रिया