काठमाडौं । कालिकोटको पलाँता गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भएको छ ।
थोपा सिंचाइ आयोजना निर्माणमा उपभोक्ता समितिमार्फत अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले पलाँता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा, सव-इन्जिनियर माधवकुमार भट्ट, वडा नं ८ का तत्कालीन वडाध्यक्ष पटकबहादुर बम, वडा सचिव जानकीकुमारी शाहीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
मुलखोला थोपा सिंचाइ उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकायलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
प्रतिवादीहरूले सिंचाइ आयोजना उपभोक्ता समिति र गाउँपालिकाबीच भएको सम्झौताअनुसार काम नगरेको, गलत प्रतिवेदन बनाएको, वास्तविक लागतभन्दा बढी उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारले दाबी गरेको छ ।
अख्तियारले सबै प्रतिवादीलाई १३ लाख ७४ हजार बिगो कायम गरी सोही रकम बराबरको जरिवाना र सजायको मागदाबी गरेको छ ।
यस्तै, कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी कृषि सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जना उपरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाको भवन निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कृषि निर्देशनालयबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेको लगायतका अनियमितता गरेको भन्नेबारे उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
प्रतिक्रिया