काठमाण्डौ । चितवनबाट झण्डै चार क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन सय ९६ किलो गाँजासहित भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थानाका ४५ वर्षीय अनिल गिरी र कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह पक्राउ परेका हुन् ।
उनीहरुलाई प्रहरीले हिजो बेलुका सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका-१ को आँपटारीबाट पक्राउ गरिएको हो ।
उनीहरुले भारतीय नम्बर प्लेटको ट्रकमा क्याबिनको भागमा फल्स बटम बनाइ प्लास्टिकको बोरामा २८ पोका गाँजा लुकाइ-छिपाइ ल्याउँदै गरेका थिए ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई लागुऔषध ओसारपोसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया