काठमाडौँ । संघीय राजधानी काठमाडौं आज दुईवटा समुहले छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै छन् ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।
बल्खुमा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्नेछ भने नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ ।
प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।
प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५ सय ८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६ सय ३७ प्रहरी, ललितपुरमा ५ सय ६४ प्रहरी र भक्तपुरमा ४ सय ४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।
ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९ सय ७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना सङ्कलनका लागि ३ सय ५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ ।
एकीकृत सुरक्षा योजना अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुनेछन् ।
प्रतिक्रिया