काठमाडौँ। भारतले दिएका १५ वटा मुर्रा राँगा नेपाल आइपुगेका छन् ।
बुधबार साँझ नेपालगञ्जको रूपैडिया नाकामा भारतबाट ल्याइएको १५ वटा मुर्रा राँगा पशु सेवा विभागका अधिकारीहरूले बुझेका छन् ।
गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा भारत सरकारले नेपाललाई १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिने भनेको थोयो ।
उक्त्त राँगा लिन बुधबार पशु सेवा विभागका प्रमुख एवं पशु विकास अधिकृत माधव अर्यालसहितको टोली नेपालगञ्ज पुगेको थियो ।
अब यी राँगाहरूलाई लहान, पोखरा र नेपालगञ्जमा रहेको राष्ट्रिय पशु प्रजनन केन्द्रमा ५-५ वटाको दरले बाँड्ने मन्त्रालयले निर्णय गरेको लहान पशु प्रजनन केन्द्रका प्रमुख शिवनाथ महतोले बताएका छन् ।
‘मन्त्रालयको निर्णयअनुसार यहाँबाट हामी भोलि आफ्नो भागमा परेको राँगा लैजान्छौं,’ उनले भने, ‘सरकारले रैथाने भैंसीहरूको नश्ल सुधार गर्ने र दुध उत्पादन पनि बढाउने भन्दै २०७३ सालमै मुर्रा राँगा ल्याउन पहल सुरू गरेको थियो ।’
पशु विज्ञहरूका अनुसार उच्च नश्लका मुर्रा भैंसीहरूले रैथाने भैंसीभन्दा दोब्बर परिणाममा दूध दिन्छन् । सोही कारण सरकारले रैथाने भैंसीहरूमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा भित्र्याउन पहल गरेको थियो ।
प्रतिक्रिया