काठमाडौँ। नेप्से परिसूचक बढ्ने क्रम जारी रहेको छ । परिसूचक बढिरहँदा कारोबार रकममा पनि दैनिक सुधार आएको छ।
बुधबार नेप्से परिसूचक १६.४२ अंकले बढेको छ ।
यस दिन नेप्से ०.८१ प्रतिशतले बढेर २०३७.०६ बिन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
गत कारोबार दिन ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९ सय ४३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६ सय ८२ रुपैयाँ पुगेको छ।
यो रकम गत ५ महिना यताकै उच्च हो । यसअघि गत २०७९ पुस २८ गते ५ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। त्यसपछि बुधबारको बजारमा ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।
यस दिन २ सय ७५ वटा धितोपत्रको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच भएको हो । बुधबार खप्तड लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९४५ रुपैयाँ ४० पैसा पुगेको छ ।
यस्तै, सिटी होटलको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ । यसैगरी, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य सर्वाधिक ५.६२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १५ हजार ८२० रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया