• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    ड्युटीबिना ब्युटी बन्ने रहर

    6.2K
    SHARES

    विश्वमा ड्युटी र ब्युटीबारे ठुलठुला बहस हुँदै आएका छन् । कोही ड्युटीलाई मात्र जोड दिने पनि छन् । कोही ब्युटीलाई मात्र जोड दिने पनि छन् । कोही दुवैलाई जोड दिने पनि छन् । जे होस्, विश्वमा ड्युटी र ब्युटीबारे विभिन्न बहस र विविध प्रकृतिका महाभारत चलिरहेकै छ । यसको आफ्नै विश्वदृष्टिकोण र वर्गीयता छ । यथार्थमा समकालीन विश्वमा ड्युटीबाट ब्युटी अलग गरिदिने षड्यन्त्र भइरहेको छ ।

    केही समयअघि ब्युटीका सन्दर्भमा नयाँ पत्रिकामा माक्र्सवादी विश्लेषक रोशन जनकपुरीले एक लेख लेख्दै यसरी एउटा सन्दर्भ उल्लेख गर्नुभएको थियो, ‘उर्दू र हिन्दीका एकजना प्रसिद्ध कथाकार कृश्नचन्दरको एउटा उपन्यास छ– एक गदहे की आत्मकथा । यसमा उनले एउटा बोल्ने गधाको कल्पना गरेका छन् । यस गधाले एउटा सुन्दरी प्रतियोगितामा निर्णायकको आसनबाट मन्तव्य दिने क्रममा आफ्नो मालिक धोबी साँझपख गधामाथि बसेर घर फर्किरहेको देखेर उसको काली बिफरको दागले भरिएकी श्रीमतीको अनुहारमा जुन सौन्दर्य पस्रन्छ, त्यो सौन्दर्य यहाँ कुनै पनि सुन्दरीको अनुहारमा नदेखेको बताउँछ । परिणाममा सबैले मिलेर उसलाई भकुर्छन् ।’

    समकालीन राजनीतिक तथा समाजिक जीवनमा रातो बर्को ओढेर ठुला कुरा गरिहिँड्नेको कुनै कमी छैन । सबका सब कुरा बाहिर आइरहकै छ । बाहिरका कुरा त झन् बाहिरै हुने नै भए । समकालीन नेपाली समाजको चेतनाको ‘एक गदहे की आत्मकथा’ मा झैँ गधा भकुर्नेको जमातभन्दा पटक्कै पृथक देखिँदैन । माथि उल्लिखित आत्मकथाका गधा पात्रले आजको सामाजिक मनोविज्ञान र मानवीय सत्यको उद्घाटन गरेको छ । आज ड्युटीविना ब्युटी बन्ने र त्यो ब्युटी बजारको नाफाको साधन बन्ने प्रक्रिया तीव्रतामा छ । ब्रेन, ड्युटी र ब्युटीका गफ त जति गरे पनि भइहाल्यो नि ! आजको ड्युटीका बारेमा कसलाई मतलब छ र ! कसैलाई विदेश भ्रमण पनि गर्नु छ, भत्ताको रकम अलि मोटो बनाउनु छ ।

    कसैलाई प्रमोसनको तनाव छ, सचिव पनि नभईकन निवृत्त भइएला भन्ने डर छ । कसैलाई सरकारी रकम सोहोर्दैमा बेफुर्सद । कसैलाई पारिवारिक भौतिकीको तीव्र चाह । सहिद परिवार, घाइते–आपाङ्गलाई कसले सम्झने ! आफ्नै छोराछोरी, सालासाली र त्यस्तै लखती–अखतीको मात्रै चिन्ता र चिन्तन हुने । क्रान्ति नगरीकन क्रान्तिकारी हुने होड छ गज्जबको । कुनै राजनीतिक काम वा त्यस्तै सभा, जुलुस वा त्यस्तै त्यस्तै राजनीतिक–वैचारिक काममा सहभागी हुन उत्तिकै अरुचि । सधैँ गनगनचाहिँ फेरि तिनैको हुने– खै क्रान्ति ? कहिले हुन्छ क्रान्ति ? यसरी पनि हुन्छ क्रान्ति ? यी सब ड्युटीविना ब्युटी बन्ने रहर हो ।

    एउटा चिनियाँ उखान छ– माथिल्लो बिम सिधा नभए तलको बिम स्वतः टेढो हुृन्छ । नेपाली राजनीतिमा यो चिनियाँ उखान सुन्दर ढङ्गले मेल खाएको देखिन्छ । जतिबेला राजा ज्ञानेन्द्रले ‘कू’ गरे, त्यसपछिको कांग्रेस–एमालेको आन्दोलनको हविगत बिर्सिनसक्नुको थियो । सडकमा बिचल्ली, बेहाल र अलपत्र परेको उनीहरूको उद्धार माओवादीले नै गर्नुपरेको थियो । आज माओवादी विभिन्न कारणले विभाजित हुन पुग्नु छुट्टै कुरा हो । त्यसरी विभाजन हुनुमा आफ्नै वर्ग, आफ्नै पार्टी र आफ्नै सहयोद्धाका विरुद्ध ‘डिफाइन’, ‘डिभाइड’, ‘डिमोरलाइज’ र ‘डिस्ट्रोय’ जस्ता विधि प्रयोग गरिनु पनि एउटा कारक थियो । पछिल्लो चरणमा माओवादीमा ‘ड्युटीबिना ब्युटी’ बन्ने खहरे रहर उर्लियो, जसका कारण न ड्युटी पूरा भयो, न त ब्युटी नै बन्न सकियो, न त सिङ्गो माओवादी नै रहिरह्यो !

    समाजमा गधे भकुराइका अनेक सन्दर्भ छन् । कसैलाई गाली गर्नुप¥यो भने प्रायः पहिलो निस्किने गालीशब्द नै ‘गधा’ हुन्छ । श्रमशील गधामाथि निकै लामो समयदेखि घोर अन्याय हुँदै आएको छ । एक सन्दर्भ हेरौँ– एकजना किसानले अन्य चौपायासँगै एउटा गधा पनि पालेको रहेछ । एकदिन गधा आँगनछेउको इनारमा खसेछ । उक्त गधालाई सबैले माया गर्थे । उनीहरूले छिमेकी गाउँबाट क्रेन ल्याएर गधालाई इनारबाट निकाल्ने उपाय पनि सोचे तर क्रेनखर्च धेरै पर्ने भएकोले त्यो व्यावहारिक भएन । गधा बूढो हुन थालिसकेको, घरमा ट्र्याक्टर पनि आइसकेको र खानेपानीको धारा आएपछि त इनारको उपयोगिता पनि सकिएको थियो ।

    किसान परिवार गधा र इनारको उपयोगिता सकिएकाले दुवैलाई त्यही पुरिदिने निष्कर्षमा पुगे । गधाले जीवनभर भारी बोकाएर आफ्नो सेवा गरेको कुरा उनीहरूले बिर्सिए । उनीहरूले इनारमा माटो खसाल्न थाले तर धेरैबेर माटो खसालिसक्दा पनि गधा पुरिएन । इनार पुरिँदै जाँदा गधा त झन्–झन् माथि पो आउन थाल्यो । प्रत्येकपटक माथिबाट माटो खसाल्दा गधालाई दुखे पनि ऊ चुपचाप ढाडबाट माटो झाथ्र्यो, अनि त्यो बुर्बुराउँदो माटोलाई खुट्टाले अलिकति खाँद्थ्यो । त्यसो गर्दा–गर्दा इनार पुरिँदै गयो र गधा सकुशल बाहिर निस्कियो ।

    माओवादीले जनयुद्ध र जनतालाई त्यही बूढो गधाको रूपमा ग्रहण ग¥यो । नयाँ वातावरणमा उसलाई अब कसैको काम छैन भन्ने कुराले घर गर्न थाल्यो । उसले सबै कुरालाई पुरानो इनारमा बूढो गधा पुर्न खाजे जस्तै गर्न थाल्यो । तर इतिहासको गतिशील चक्रमा यो कुरा सही सावित हुन सक्तैनथ्यो र भएन । नवउदारवादी पुँजीवादको अँध्यारो सुुरुङबाट असली माओवादी जनक्रान्ति लिएर निस्किए, जसरी पुर्न खोज्दाखोज्दै पनि गधा इनारबाट निस्किएको थियो । जसरी बूढो गधाको बाँच्ने सङ्घर्षले किसान परिवारलाई चकित पारिदिएको थियो, त्यसरी नै जनक्रान्तिले प्रचण्ड–मण्डलीलाई चकित पारिदिएको छ । वैयक्तिक स्वार्थले मानिसको विवेकमा कसरी बिर्को लगाइदिन्छ भन्ने कुरा गधा र इनारको कथाले प्रस्ट गरेको छ । पछिल्ला दिनमा प्रचण्डहरू ड्युटीविना ब्युटी बन्ने रहरले स्वार्थान्ध हुन पुगे । हामीले गधाजस्तो इमानदार तथा परिश्रमी जनता र इनारजस्तो दार्शनिक तथा सैद्धान्तिक मूल्यबोध गर्नुपर्दछ । ड्युटीविना ब्युटी बन्न खोज्नु नितान्त गलत कुरा हो ।

    लेनिनले भन्नुभएको छ, “मजदुर वर्गको राजनीतिक पार्टी अर्थात् कम्युनिस्ट पार्टीले मात्र सर्वहारा वर्ग र सर्वसाधारण श्रमिक जनताको अगुवालाई एकतावद्ध, शिक्षित र सङ्गठित पार्न सक्दछ । यस्तो अगुवा, जसले मात्र उक्त सर्वसाधारणका अनिवार्य निम्न पुँजीवादी ढुलमुलपन, सर्वहारा वर्गको माझमा रहेका सम्पूर्ण सङ्घवादी सङ्कीर्णता वा मजदुर सङ्घवादी पूर्वाग्रहका अनिवार्य परम्परा र प्रत्याक्रमणहरूको प्रतिरोध गर्न सक्छ र सम्पूर्ण सर्वहारा वर्गका संयुक्त कारबाहीहरूको नेतृत्व गर्न अर्थात् राजनीतिक रूपले सर्वहारा वर्गको नेतृत्व गर्न र त्यसमार्फत श्रमिक जनताका सबै समुदायहरूको नेतृत्व गर्न सक्छ”, (लेनिन, सङ्कलित रचनाहरू, भाग ३२, पृष्ठ २२२) ।

    माओले भन्नुभएको छ, “समाजवादी व्यवस्थाले अन्तमा पुँजीवादी व्यवस्थाको ठाउँ लिनेछ । यो मानिसको इच्छाभन्दा स्वतन्त्र एक वस्तुगत नियम हो । इतिहासको चक्रलाई रोक्नका लागि प्रतिक्रियावादीहरूले जतिसुकै नै कसरत किन नगरून्, ढिलो चाँडो क्रान्ति सम्पन्न भएरै छाड्नेछ र अनिवार्य रूपले विजय प्राप्त गर्नेछ”, (माओ, महान् अक्टोबर क्रान्तिको ४० औँ जयन्तीको अवसरको भाषण) । ड्युटीविना ब्युटी बन्ने रहरका सन्दर्भमा लेनिन र माओका यो भनाइ मननीय छन् ।

    विभिन्न माध्यमले ब्युटीलाई कसरी नष्ट गरिरहेको हुन्छ भन्ने कुरालाई जर्ज लुकासले मीठो शैलीमा आफ्नो अभिव्यक्ति दिनुभएको छ, “कलाकारहरूलाई भ्रष्ट पार्न खोज्ने शक्तिहरू यति बलिया र कुटिल छन्, असाधारण आत्मबल भएकाले मात्र तिनको विरोध गर्ने आँट गर्छ । समाचारपत्रहरू, नाचघर, सिनेमा तथा जनसाधारणमा बढी चलेका पत्रपत्रिकाहरू सबैले चेतन–अवचेतन रूपमा वास्तविक कलाका विरुद्ध विभ्रम फैलाउने तथा त्यसलाई नोक्सान पु¥याउने कार्यमा सहयोग पु¥याइरहेका हुन्छन् ।” देश र जनताको हितमा काम गर्नु ड्युटी हो अर्थात् आन्दोलन वा सङ्घर्ष वा क्रान्ति ड्युटी हुन् भने लक्ष्य ब्युटी हो, जहाँ मोतीका दानाजस्ता पसिनाका थोपा तप्पतप्प झरिरहेका हुन्छन् ।

    नेपालमा “आन्दोलन सबथोक हो र लक्ष्य केही होइन” भन्ने बर्नस्टिनवादी संशोधनवाद पनि हामीले देखेकै हौँ । लक्ष्य मात्र सबथोक हो भन्ने कुरा पनि गलत हो । कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने मुक्ति अभियानका सबै रूपका आफ्ना लक्ष्य, उद्देश्य र रणनीति हुन्छन् । हिँड्दै र पाइला मेट्दै जानु क्रान्ति होइन । माक्र्स–एङ्गेल्सले साम्यवादको सपना देख्नुभयो । त्यो सपना पेरिस कम्युनमा विपनामा प्रकट भयो । रुसी अक्टोबर क्रान्ति र चिनियाँ जनवादी क्रान्तिका माध्यमबाट लेनिन र माओले मुक्तिकामी सपनालाई अझ समृद्ध मात्र पार्नुभयो । यो मुक्ति अभियान विश्वका झन्डै दुईतिहाइ भू–भागसम्म फैलियो । विश्वका श्रमजीवी जनता तथा उत्पीडित राष्ट्रहरूले आज पनि विभिन्न स्तरका क्रान्ति जारी राखेका छन् । यो ड्युटीद्वारा ब्युटी बन्ने प्रक्रिया हो ।

    आज पनि बहस छ– २०५२ सालअघिका माओवादी, २०५२–२०६३ सम्मका माओवादी, २०६३–२०७० सम्मका माओवादी र त्यसपछिका माओवादीका बारेमा । नयाँ र पुराना माओवादी, जनयुद्ध लडेका र नलडेका, जनयुद्ध लड्न नपाएका वा नभ्याएका माओवादी, आमाको कोखबाटै जनयुद्धको योजना लिएर आएका माओवादी, जन्मिएपछि माओवादी भएका माओवादी, रेड र एक्स्पर्टबिचको अन्तर्विरोधबारे वैज्ञानिक अध्ययन हुन आवश्यक छ । नेपालको समकालीन क्रान्तिकारी आन्दोलन सकार र नकारको द्वन्द्वात्मक सम्बन्धमा आधारित छ । बहसमा सकार र नकार दुवै आउन सक्छन् ।

    हामीले नकारात्मक संश्लेषणलाई मानक बनाउनुहुँदैन । हामीले सकारात्मक संश्लेषण गर्ने मालेमावादी चिन्तनधाराको विकास गर्नैपर्दछ । अन्तर्विरोधको सार्वभौमिकता एवम् प्रधान अन्तर्विरोधको निक्र्यौलको पद्धति र महत्वको विश्लेषणले द्वन्द्ववादको बुझाइलाई उचाइमा पु¥याउँछ । क्रान्तिको रणनीति र कार्यनीति निर्धारणमा अन्तर्विरोधको आधारभूत नियमले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । जनयुद्धकालीन माओवादीको एउटा धार नेपाल कम्युनिस्ट पार्टी जनयुद्ध सुरु गर्दाका प्रतिवद्धतासहित विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति गरिरहेछ । क्रान्तिकारी विरासतका सन्दर्भमा आ–आफ्ना दावी हुन सक्तछन् । तर, यो बोलीले भन्दा पनि व्यवहारले दिने उत्तर हो । यो ड्युटीले दिने उत्तर हो ।

    राजनीतिमा ड्युटीविना ब्युटी बन्ने कुरा नैतिकतासित पनि सम्बन्धित छ । नेपालमा कम्युनिस्ट राजनीतिभन्दा बुर्जुवा राजनीतिमा केही मात्रामा भए पनि ‘राजनीतिक नैतिकता’ देखिन्छ । कम्युनिस्ट आवरणका राजनीतिक पार्टी र तिनसित आबद्ध भनिएका मानिसमा ‘राजनीतिक नैतिकता’ को खडेरी नै देखिन्छ । आजकल मानिसका बेजोडका चुनौती, बेजोडका रहर र बेजोडका बाध्यता देखिन्छन् । समकालीन समाजमा अलिकति मिल्दा चाटिहाल्ने र अलिकति नमिल्दा खुइल्याइहाल्ने संस्कृति बनेको छ । बेजोडका पार्टी, बेजोडका नेता, बेजोडका सहयात्री बनेका उनीहरू आफ्नो खुट्टामा आफैँँ बन्चरो हान्ने बेजोडका अभियन्ता पनि बनेका छन् । सफलता प्राप्त गर्नका लागि असल साथीको आवश्यकता पर्दछ र धेरै नै ठूलो सफलता प्राप्त गर्नका लागि राम्रो सत्रुको आवश्यकता पर्दछ भन्ने कुरा ड्युटीसत सम्बन्धित छ । सरलता, इमानदरिता र निष्ठाका माध्यमबाट ड्युटी पूरा गर्न सकिन्छ । हामीले ड्युटी पूरा गरेर मात्र ब्युटी बन्ने प्रयास गर्नुपर्दछ । दलाल कुटनीतिक आहालमा जड्यौरी ओढेर ब्युटी बन्न सकिँदैन ।

    २०५२ सालमा माओवादीले नेपाली कम्युनिस्ट आन्दोलनको संशोधनवाद र अवसरवादको फोहोरको डङ्गुरमाथि आगो झोस्दै जनयुद्धको पहलको सपना देख्यो । आफैँँभित्र रहेको क्रान्तिविरोधी प्रवृत्तिमाथि पनि आगो लगाउने आँट गरेपछि जनयुद्ध जन्मियो । उसले दीर्घकालीन जनयुद्धको मोडेलमा सशस्त्र जनविद्रोहको मोडेललाई पनि समायोजन ग¥यो । गाउँ र सहरको कामलाई तालमेल मिलायो । जनयुद्ध अघि बढ्दै गर्दा उसले जनआन्दोलनको कामलाई पनि यथेष्ट ध्यान दियो । उसले भूमिगत र खुल्ला तथा वैधानिक र अवैधानिक कामलाई पनि महत्व दिँदै फौजी तथा गैर–फौजी कामलाई तीव्रता दियो । उसले राष्ट्रिय र अन्तर्राष्ट्रिय कामलाई पनि ध्यान दियो ।

    यस्तै–यस्तै तरिका अपनाउँदै जनयुद्धको मिसन अगाडि बढ्यो । अवश्य पनि कम्युनिस्ट–सर्वहाराका ऐतिहासिक मिसन हुन्छन् । ड्युटीविना ब्युटी बन्ने रहरले त्यो मिसन पूरा हुँदैन । ड्युटीमा लगाव नभईकन कुनै पनि मिसन पूरा हुँदैन । एङ्गेल्सले भन्नुभएको छ, “सार्विक मुक्तिको यस कार्यलाई सम्पन्न गर्नु आधुनिक सर्वहाराको ऐतिहासिक मिसन हो । ऐतिहासिक परिस्थितिलाई र यस प्रकार यस कार्यको स्वरूपलाई राम्रोसँग बुझ्नु तथा वर्तमान कालको उत्पीडित सर्वहारा वर्गलाई इतिहासले जुन महान् कार्य सुम्पेको छ, त्यसको परिस्थिति तथा त्यसको अर्थको पूूर्ण ज्ञान यस वर्गलाई गराउनु सर्वहारा आन्दोलनको सैद्धान्तिक अभिव्यञ्जना वैज्ञानिक समाजवादको कार्य हो ।”

    माओवादीले वैज्ञानिक समाजवाद र साम्यवादको सपना पूरा गर्ने सपना देख्यो । जनयुद्धका क्रममा नयाँ–नयाँ सपना पनि जन्मिए । मालेमावादलाई नेपालको विशिष्ट परिस्थितिमा विकास गर्दै क्रान्ति सम्पन्न गर्ने पहल भए । जनगणतन्त्र नेपाल, स्वाधीन र समृद्ध नेपाल, समाजवाद र साम्यवादमा पुग्ने र पु¥याउने अठोटसहित माओवादीहरू ज्यानलाई हत्केलामा राख्न तयार भए । यो अभियानमा लाखौँ जनताको साथ, समर्थन र सद्भाव प्राप्त भयो । नयाँ मान्छेहरू नयाँ नेपालको नयाँ तस्बिर बोकेर मालेमावादी साम्यवादको लागि अग्निकुण्डमा हाम्फाल्न तयार भए । माओवादीले एउटा हातमा बन्दुक र अर्को हातमा आफ्नै बलिदानको चिहान खन्ने कोदालो बोके । त्यही प्रक्रियामा ८,८९५ जना जनताका सर्वोत्तम छोराछोरीले महान् बलिदानको कोटा चुक्ता गरे । उनीहरूले देश र जनताका पक्षमा आफ्नो महान् ड्युटी पूरा गरेर श्रेष्ठ ब्युटी बने ।

    ब्युटी दैहिक र शारीरिक घेरामा बाँधिन सक्दैन । ब्युटी हृदयको विशालतामा, उच्चतामा र आदर्शतामा आधारित छ । ब्युटीलाई ब्युटी बनाउने चीज भनेकै कर्म, विचार, साधना र सङ्घर्ष हो । उत्तर आधुनिकतावादले ड्यटीविना ब्युटीको वकालत मात्र गर्दैन, उसले ड्युटीभित्रको महान् सङ्घर्षको अवमूल्यन गर्दै त्यसको आदर्श, उदात्त मानवता र मूल्यलाई धुजाधुजा पार्दछ । हामीले ड्युटी र ब्युटीलाई द्वन्द्वात्मक सम्बन्धको आधारमा बुझ्नुपर्दछ । हामीले यसलाई ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणले हेर्नुपर्दछ । हामीले ड्युटीविना ब्युटी बन्ने प्रक्रियालाई खारेज गरिदिनुपर्दछ र, भनिदिनुपर्दछ– पहिला ड्युटी पूरा गर अनि मात्र ब्युटीको कुरा सुनाैँला’।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ