• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    यस्ता थिए जनयुद्ध सुरु गर्दाका ७ प्रतिबद्धता, कति भए पुरा, कति रहे अधुरा ?

    काठमाडौँ । आज जनयुद्ध सुरु गरिएको दिन । २०५२ साल फागुन १ गतेबाट नेपालमा जनयुद्ध सुरु भएको थियो । राजतन्त्रत्मक राज्य व्यवस्थाको अन्त्य गर्दै नेपालमा जनवादी सत्ता स्थापन गर्ने उद्देश्यले जनयुद्ध सुरु भएको २४ बर्ष पूरा भएको छ ।

    माओवादीहरुले आजको दिनलाई विशेष दिनको रुपमा मनाउँदै आएका छन् । जनयुद्धको क्रममा तत्कालिन माओवादीले ठूलाठूला राजनीतिक तथा फौजी कारवाही गरेर जनयुद्ध दिवस मनाउथ्यो । गाउँगाउँमा स्थानीयले भव्य चाड पर्वकै रुपमा जनयुद्ध दिवस मनाउथे ।

    शान्तिप्रक्रियासँगै जनयुद्ध दिवस मनाउने तरिका र शैलीमा पनि फरकपन आयो । जनताले सुरु गरेको नयाँ अभ्यास पूरै ध्वस्त भएको छ भने जनयुद्धको नेतृत्व गरेका नेता कर्यकर्ताहरुनै औपचारिकतामा रमाउन थाले । ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै जनवादी राज्यसत्ता स्थापनाको लागि जनयुद्धको बाटोमा हिडौँ’ भन्ने नारासहित सुरु भएको जनयुद्धले सामन्तवादको जगमा टिकेको राज्यसत्तालाई ढाल्न सफल भएपनि मूल उद्देश्यमा नपुगी नै अन्त्य भयो ।

    जनयुद्ध सुरु गरेपछि गरिएको प्रतिबद्धताको ३ नम्बर बुँदामा एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढता विना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा तत्कालिन नेतृत्वले प्रतिबद्धता जाहेर गरेको छ । जनयुद्धको मुल उद्देश्य सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने भन्ने नै थियो । जनयुद्धलाई जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाब दिई सामान्य सम्झैतामा टुंग्याउने साधन बन्न नदिने भन्ने प्रतिबद्धता पनि सोही बुँदामा गरिएको छ । तर, भयो यसको ठिक उल्टो ।

    सेना, सरकार, अदालतसहित जनवादी राज्यसत्ताका सबै संरचना बनाउँदै तत्कालिन नेकपा (माओवादी)ले ८० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो । सरकारको उपस्थित शहर-सदरमुकाममा मात्रै सिमित बनाइदिएको थियो । तर, जनयुद्धले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न सकेन, त्यस्तै आमूल परिवर्तनविनै सम्झौतामा टुंगियो । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामै माओवादीहरु चित्त बुझाउँन बाध्य छन् ।

    आजको दिनलाई जनयुद्धकालिन माओवादीहरुले विशेष दिनको रुपमा मनाउँदै आएका छन् । यसपटक पनि विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइँदैछ । सबैको सामान्य कार्यक्रम हुने भएपनि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने राजनीति र फौजी संघर्षकै बीच जनयुद्ध दिवस मनाउने भएको छ । नेकपामाथि प्रतिबन्ध लगाएर सरकारले शान्तिपूर्ण कार्यक्रम गर्न समेत दिएको छैन । यसको बीच पनि नेकपाले काठमाडौँसहित देशका मुख्य शहरमा खुला कार्यक्रम गर्ने जनाएको छ ।

    त्यस्तै वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले पनि विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउँदैछ । एमालेसँग एकीकरणसँगै पूर्वमाओवादी केन्द्रले जनयुद्ध दिवस मनाउन छोडेको छ । कोही नेता कार्यकर्ताले स्वतस्फुर्त रुपमा आयोजना गरिएका कार्यक्रममा नेताहरु सहभागी हुने भएका छन् । पार्टीले नै औपचारिक कार्यक्रम गर्न लागेको समेत बताइएको छ ।

    यस्ता थिए जनयुद्ध सुरु गर्दाका प्रतिबद्धता
    १. हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टताअनुसार गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारावर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।

    २. जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ताबाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनैतिक सत्ता कब्जा गर्नु नै सशस्त्र सङ्घर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।

    ३. हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँजनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरू चलाउँदै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताविना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाब दिई सामान्य सम्झैतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्नपुँजीवादी, संकीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरूबाट सम्पूर्ण रूपले मुक्त रहने छ ।

    ४. हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँअन्तराष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको क्रान्तिकारी अन्तर्रा्िष्ट्रयवादी आन्दोलन (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पु¥याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।

    ५. हाम्रो योजना नयाँजनवादी क्रान्तिकालमा सर्वहारावर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तरविरोधको नियमको सार्वभौमिकताअनुसार भित्री–पार्टी–सङ्घर्षलाई द्वन्द्वात्मक ढङ्गले ग्रहण र त्यसलाई सञ्चालन गर्नु, पार्टीलाई त्यसरी सजीव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु, पूरा हृदयले जनताको सेवा गर्ने, जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।

    ६. हाम्रो यो योजना सर्वहारावर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्ने छ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र सङ्घर्ष सञ्चालन गरिने छ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र सङ्घर्ष श्रमजीवी जनससमुदाय मुख्यतः गरीव किसाहरूमाथि भर परेर चल्ने छ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् विदेशी प्रतिक्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा पर्ने छैन ।

    ७. युद्धमा आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्ने छ । लेनिनको ‘क्रान्ति आफैले आफ्नो विकासक्रममा सधैँ नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ’ भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरूरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयुद्ध विजयी बन्ने छ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठीक ढङ्गले पक्रेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ