• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेता कार्यकर्ता रिहा गर्न गृहमन्त्री बादललाई आयो २४ घण्टे अल्टिमेटम, हेर्नुहोस् विज्ञप्तिसहित

    36.7K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्न गृहमन्त्री राम बहादुर थापा बादललाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

    सोमबार सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले एक विज्ञप्ति जारी गर्दै राजनीतिक आस्थाकै कारण देशभरबाट गिरफ्तार सबै नेता कार्यकर्तालाई रिहा गर्न ओली सरकारका गृहमन्त्री बादललाई अल्टिमेटम दिएका हुन् । ‘सामाजिक दलाल फासिवादी केपी–पिके सरकार र रामबहादुर गृह प्रशासनलाई देशैभरीबाट गैह्रन्यायीक गिरफ्तारीमा परेका आफ्नो संगठनका सबै नेता कार्यकर्ताहरुलाई २४ घण्टाभित्र विनाशर्त रिहा गर्न जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

    साथै आफूहरुमाथि भइरहेको धरपकड र गिरफ्तारी विरुद्ध क्रान्तिकारीले आम शैक्षिक हड्तालसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ। विद्यार्थीहरुको न्यायपूर्ण आन्दोलनलाई जेल, नेल र बन्दुकको साहाराले दबाउने फासिवादी हर्कतबिरुद्ध संघर्षका कार्यक्रम घोषणा गरिएको ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

    ‘केपी–पिके कम्पनीको सरकार र रामबहादुर गृह प्रशासन बनेदेखि नै यसले हाम्रो संगठनमाथि निरन्तर रुपमा दमन, गिरफ्तारी, झुठामुद्दा र राज्य आतांकका श्रृखंलाहरु नै चलाईरहेको छ । आफ्नो जनविरोधी र कुरुप चरित्र ढाकछोप गर्न यसले क्रान्तिकारी विद्यार्थीहरुको न्यायपूर्ण आन्दोलनलाई जेल, नेल र बन्दुकको साहाराले दबाउने फासिवादी हर्कत पद्रर्शन गरिरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

    संगठनका सचिवालय सदस्य तथा भेरी ब्युरो संयोजक पुष्प न्यौपाने, गण्डक ब्युरो संयोजक मिलन राई, केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्द, केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला अध्यक्ष प्रेम शाही, केन्द्रीय सदस्य तथा धादिङ जिल्ला अध्यक्ष अटल पाण्डे, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, कैलाली जिल्ला अध्यक्ष बबरजंगसिंह, पृथ्वीनारायण क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, पर्सा जिल्ला अध्यक्ष राधेश्याम साह, बारा जिल्ला अध्यक्ष भुपती साह, मुगु जिल्ला संयोजक नरसुर बुमी, पिएन जिल्ला उपाध्यक्ष आस्था नेपालीलगायत देशैभरिबाट दर्जनौं नेता कार्यकर्ताहरुलाई राजनैतिक आस्थाको आधारमा गिरफ्तार गरी झुठा मुद्दाहरुमा फँसाईएको उनले बताएका छन् ।

    ‘हामी यो सामाजिक दलाल फासिवादी सरकारलाई चुनौति दिन चाहन्छौं कि तिम्रो यो अन्यायपूर्ण, जनविरोधी, राष्ट्रघाती, भ्रष्ट र फासिवादी राज्य व्यवस्थाका जुनसुकै प्रकारका दमननका अगाडि हामी कदापी झुक्ने छैनौं । वैज्ञानिक समाजवादी राज्य व्यवस्था र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको हाम्रो महान् लक्ष्य प्राप्तिको जनक्रान्तिमा हाम्रो संगठन अनवरत अगाडि बढ्नेछ ।’ भनिएको छ ।

    साथै गिरफ्तार नेता कार्यकर्ताहरुको रिहाईको निम्ति क्रान्तिकारीले चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । जसअन्तर्गत जेठ ३० र ३१ गते देशव्यापी स्कूल, क्याम्पस र विश्वविद्यालयहरुमा विरोध कार्यक्रम, अन्तरक्रिया, विरोध व्यानर, पर्चा वितरण, भण्डाफोर, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन र कोणसभा गर्ने क्रान्तिकारीले जनाएको छ ।

    त्यस्तै असार १, २ र ३ गते जुलुस प्रदर्शन, असार ४ गते देशव्यापी क्याम्पसहरु अगाडि १ घण्टा चक्काजाम, असार ५ गते, देशव्यापी मसाल जुलुस, असार ६ गते गैह्रन्यायीक गिरफ्तारी गरिएका स्थानहरु उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल र असार ७ गतेपछि दोस्रो चरणका संघर्षका कार्यक्रहहरु घोषणा गरिने विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।

    ‘उहाँहरुको रिहाईको निम्ति निम्न चरणबद्ध संघर्षका कार्यक्रमहरु जस्तै जेठ ३० र ३१ गते : देशव्यापी स्कूल, क्याम्पस र विश्वविद्यालयहरुमा विरोध कार्यक्रम, अन्तरक्रिया, विरोध व्यानर, पर्चा वितरण, भण्डाफोर, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन र कोणसभा । असार १, २ र ३ गते : जुलुस प्रदर्शन । असार ४ गते : देशव्यापी क्याम्पसहरु अगाडि १ घण्टा चक्काजाम (९ बजेदेखि १० बजेसम्म ) । असार ५ गते : देशव्यापी मसाल जुलुस ।’ विज्ञप्तिमा भनिएको छ ।

    त्यस्तै विज्ञप्तिमा अगाडि भनिएको छ – ‘असार ६ गते : गैह्रन्यायीक गिरफ्तारी गरिएका स्थानहरु उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल र असार ७ गतेपछि दोस्रो चरणका संघर्षका कार्यक्रहहरु घोषणा गरिने छन् ।’

    क्रान्तिकारीले न्यायपूर्ण आन्दोलनका कार्यक्रमहरु सफल पार्न सहयोग गरिदिनुहुन सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशिल जनसमुदायहरु र आम युवा विद्यार्थीहरुलाई आग्रह पनि गरेको छ ।साथै आफूहरुको संघर्षबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयं  ओली नेतृत्वको  सरकार हुने विज्ञप्तिमा उल्लेख छ।

    ‘अन्त्यमा, हाम्रा यी न्यायपूर्ण आन्दोलनका कार्यक्रमहरु सफल पार्न सहयोग गरिदिनुहुन सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशिल जनसमुदायहरु र आम युवा विद्यार्थीहरुलाई आग्रह पनि गर्दछौं । यो संघर्षबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयं यो सामाजिक फासिवादी सरकार हुने विषय पनि स्पष्ट पार्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

    ओली सरकारले बिगत लामो समयदेखि विद्रोही नेकपामाथि दमन व्यापक बढाएको छ । शनिबार मात्रै नेकपा पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल ‘क्रान्तिकारी’ को बैठक बसिरहेका बेला बैठकस्थल नै घेराबन्दीमा पारेर कास्की प्रहरीले२२ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

    अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा विद्यार्थी सङ्गठनको वैठक बसिरहेकै शनिबार अपरान्ह ४ बजेबाट प्रहरीले वैठकस्थलमा घेराबन्दी गरेको थियो । प्रहरीको नेकपा नेता कार्यकर्तालाई घेरा हालेपछि स्थानीय आमा समूहले प्रतिकार गरेको त्यहाँबाट एक प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई टेलिफोन गरेर जानकारी दिएका थिए ।

    तर प्रहरीले सबैलाई गिरफ्तार गरेर हिरासतमा राख्ने धम्की दिएपछि आमा समुह पछि हटेको ति प्रत्यक्षदर्शीले बताए । ४ बजेदेखिको घेराबन्दीमा राखेका नेता कार्यकर्तालाई राति १० बजे जिल्ला प्रहरी कार्यालयबाट थप फोर्स मगाएर गिरफ्तार गरेको बताइएको छ ।

    पक्राउ पर्नेहरुमा नेकपा कास्कीका सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, नेकपास्कीका जिल्ला सदस्य एवम् एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मिलन राई, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, क्रान्तिकारीकै पीएन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, विद्यार्थी नेता एवम् सहिदपुत्र सुजन सापकोटा र आस्था नेपाली लगायत छन् ।

    सो क्षेत्रमा नेकपाको बैठक बसिरहेको सूचनाका आधारमा प्रहरीले अप्रेशन चलाएको र उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई पुर्‍याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच नेकपा कास्कीले आफ्ना नेता कार्यकर्ताको गिरफ्तारीप्रति घोर आपत्ति जनाएको छ । आइतबार बिहानै एक विज्ञप्ति जारी गर्दै नेकपा कास्कीका इन्चार्ज रुपेशले हिजो २५ गते कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा न.. ११ उरीस्थित एक आमा समूहको घरमा बसिरहेका बखत दलाल सत्ताका मतियारहरुले बैठकस्थललाई घेरा हाली आतंक मच्चाएर व्यापक गिरफ्तारी गरेको भन्दै घोर भत्सर्ना गरेका छन् ।

    सामाजिक दलाल प्रवृत्तिका केपी नेतृत्वको सरकारले गिरफ्तार सबैलाई निःशर्त रिहा नगरेर राजनीतिक स्वतन्त्रताको सुनिश्चितता र जनदमन नरोकेमा थप संघर्षमा जाने समेत उनले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

    ‘संविधानले नै निर्धारण गरेको परिधिमा रही आफ्नो संगठनको बैठक बसरिहेका बेला गरिएको जनदमन र गिरफ्तारीको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । साथै सामाजिक दलाल प्रवृत्तिका केपी नेतृत्वको सरकारले गिरफ्तार साथीहरुको निःशर्त रिहाईको माग पनि गर्दछ । यदि राजनीतिक स्वतन्त्रताको सुनिश्चितता र जनदमन नरोकेमा थप संघर्षमा जान समेत बाध्य हुने कुरा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

    आफ्नो दलाल सत्ता जोगाउन ओली सरकारले संविधानले नै मौलिक हकका रुपमा निधाृरण गरेको “विना हातहतियार भेला भई आफ्नो कुरा जनतामाझ निर्धक्कका साथ राख्न पाउने” अधिकारलाई कुल्चिंदै व्यापक मात्रामा गैरकानूनी धरपकड, गिरफ्तारी र खानतलासीलाई तीब्रता दिईरहेको नेकपाको दावी छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ