कायरो । अमेरिका र इरानबिच करिब छ महिनादेखि जारी युद्ध तत्काल अन्त्य हुने संकेत देखिएको छैन। नयाँ अमेरिकी आर्थिक प्रतिबन्ध घोषणा हुनुअघि दुवै देशका नेताहरूले एकअर्काविरुद्ध कडा अभिव्यक्ति दिइरहेका छन्।
यसबिच इरानको मुख्य व्यापारिक साझेदार चीनसमेत अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चिन्ता बढेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानविरुद्ध अहिलेसम्मकै ‘कडा प्रतिबन्ध’ घोषणा गर्ने तयारी गरेका छन्। वासिङ्टनले इरानसँग व्यापार गर्ने उसका साझेदारमाथि समेत दबाब बढाउने संकेत गरेको छ।
सन् २०२५ को तथ्यांकअनुसार इरानबाट निर्यात हुने तेलको ८० प्रतिशतभन्दा बढी चीनले खरिद गर्छ। त्यसैले नयाँ अमेरिकी प्रतिबन्धले तेहरानसँगै बेइजिङमाथि पनि आर्थिक दबाब बढाउन सक्ने देखिएको छ। चीनले भने समस्या समाधानको बाटो कूटनीति भएको भन्दै अमेरिकी दबाबको आलोचना गर्दै आएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार अमेरिकाले घोषणा गर्न लागेको नयाँ प्रतिबन्धलाई संयुक्त राष्ट्रसंघका स्वतन्त्र सदस्य राष्ट्रहरूमाथि आफ्नो अधिकार क्षेत्र विस्तार गर्ने प्रयास भएको बताएका छन्। उनले यस्तो प्रकारको ‘दोस्रो तहको प्रतिबन्ध’ लाई अन्तर्राष्ट्रिय कानुनमा कुनै आधार नभएको दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने देशले आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आएका छन्।
शुक्रबार ट्रम्पले इरानसँग सम्झौताको सम्भावनाबारे प्रश्न गर्दा आफूहरू घटनाक्रम हेरिरहेको बताएका थिए। उनले इरान सम्झौता गर्न चाहेको भए पनि अमेरिकाले चाहेको ‘उचित सम्झौता’ का लागि तेहरान अझै तयार नभएको दाबी गरे।
अमेरिकाले युद्धको सुरुवातमा राखेका केही प्रमुख लक्ष्य भने अझै पूरा नभएको रिपोर्टमा उल्लेख छ। इरानको आणविक कार्यक्रम पूर्ण रूपमा ध्वस्त पार्ने र इरानी धार्मिक शासनविरुद्ध जनविद्रोहका लागि परिस्थिति सिर्जना गर्ने अमेरिकी उद्देश्यमा अपेक्षित सफलता हासिल नभएको बताइएको छ।
इरानको आणविक कार्यक्रमको वर्तमान अवस्थाबारे पनि स्पष्ट जानकारी छैन, किनभने संयुक्त राष्ट्रसंघका निरीक्षकहरू सन् २०२५ देखि इरानमा पहुँचविहीन छन्।
होर्मुजमा तेल ढुवानी ठप्पजस्तै
अमेरिका र इरानबिचको तनावको सबैभन्दा ठूलो असर रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुजमा देखिएको छ। इरानले अनुमति नलिई होर्मुज पार गर्न खोज्ने तेल ट्यांकरमाथि आक्रमण गर्ने चेतावनी दिँदै आएको छ। यसका कारण समुद्री यातायात लगभग ठप्प भएको छ।
जहाज ट्र्याकिङ तथ्यांकअनुसार बिहीबार होर्मुज हुँदै केवल चारवटा व्यापारिक जहाज गुज्रिएका थिए। तीमध्ये कुनै पनि ठूलो कच्चा तेल बोक्ने ट्यांकर वा तरलीकृत प्राकृतिक ग्यास बोकेको जहाज थिएन।
अमेरिकी ऊर्जा सचिव क्रिस राइटका अनुसार अमेरिकी सेनाको सहयोगमा पछिल्लो सात दिनको औसतमा दैनिक करिब ८० लाख ब्यारेल तेल होर्मुज हुँदै पार गराइएको छ। युद्धअघि भने यही जलमार्गबाट दैनिक २ करोडभन्दा बढी ब्यारेल तेल ढुवानी हुने गरेको थियो। यो विश्वभर दैनिक खपत हुने तेलको करिब पाँचमध्ये एक ब्यारेल बराबर हो।
इरानको सैन्य क्षमता कमजोर, तर प्रतिरोधको क्षमता कायम
अमेरिकी आक्रमणले इरानको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याएको तथा उसको नौसेना र वायुसेनालाई कमजोर बनाएको बताइएको छ। तर इरानसँग अझै पनि पर्याप्त क्षेप्यास्त्र र ड्रोन क्षमता रहेको छ, जसले तेल ट्यांकरको आवागमन प्रभावित पार्न तथा क्षेत्रीय प्रतिद्वन्द्वीमाथि आक्रमण गर्न सक्ने अवस्था रहेको रिपोर्टमा उल्लेख छ।
इरानी सशस्त्र बलका प्रमुख मेजर जनरल अली अब्दोल्लाहीले शुक्रबार कुनै पनि नयाँ खतरा आए त्यसको ‘कडा, दण्डात्मक र विनाशकारी’ जवाफ दिने चेतावनी दिएका छन्।
तर सैन्य चेतावनीसँगै इरानी राष्ट्रपति मसुद पेजेस्कियानले कूटनीतिक समाधानको आवश्यकता दोहोर्याएका छन्। उनले इरान अहिले ‘शक्ति र सम्मान’ को अवस्थामा रहेको भन्दै यही अवस्थामा युद्ध अन्त्य गर्नु राम्रो हुने बताएका छन्।
युद्धको आर्थिक मूल्यबारे इरानभित्र चिन्ता
युद्धले इरानको अर्थतन्त्रमा गम्भीर असर पारेको विषयलाई इरानी नेतृत्वले समेत स्वीकार गर्न थालेको छ। अमेरिकासँग मध्यस्थतामार्फत भइरहेको वार्तामा इरानका प्रमुख वार्ताकारसमेत रहेका संसद्का सभामुख मोहम्मद बाकेर कालीबाफले देशको आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्।
उनले सैन्य शक्ति जति भए पनि जनतासँग खानका लागि पर्याप्त खाना नभए, आर्थिक कारोबार नचले, आर्थिक वृद्धि र राष्ट्रिय उत्पादन कमजोर भए देश टिक्न नसक्ने बताएका छन्।
युद्धका क्रममा हजारौँ मानिसको मृत्यु भइसकेको छ। युद्धको पहिलो दिन मात्रै इरानका १६८ जना विद्यालयका बालबालिकाको मृत्यु भएको बताइएको छ। अमेरिकाले आफ्ना ७५० भन्दा बढी सैन्य कर्मचारी घाइते भएको र १८ जनाको मृत्यु भएको जनाएको छ।
यसरी युद्धको सैन्य मोर्चामा प्रत्यक्ष भिडन्त केही समयका लागि कम भए पनि अमेरिका र इरानबिचको राजनीतिक तथा आर्थिक टकराव झन् तीव्र बन्दै गएको छ। सोमबार घोषणा हुने अमेरिकी नयाँ प्रतिबन्ध, त्यसमा चीनको सम्भावित प्रतिक्रिया र स्ट्रेट अफ होर्मुजमा तेल ढुवानीको अवस्था आगामी दिनमा युद्धको दिशा निर्धारण गर्ने महत्त्वपूर्ण कारक बन्न सक्ने देखिन्छ।



प्रतिक्रिया