• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    फेरि चर्कियो अमेरिका–क्यानडा व्यापार तनाव, अन्तिम समयमा वार्ता विफल

    611
    SHARES



    वासिङ्टन/ओटावा । अमेरिका र क्यानडाबीच व्यापार सम्झौता गर्ने अन्तिम प्रयास असफल भएपछि दुई देशबीचको व्यापार तनाव फेरि चर्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर बराबरका वस्तुमा ५० प्रतिशत भन्सार लगाएपछि क्यानडाले पनि त्यसको जवाफमा समान दरमा शुल्क लगाउने घोषणा गरेको छ ।

    अमेरिकाले लगाएको नयाँ शुल्क शुक्रबार मध्यरातदेखि लागू भएको हो । यसअघि दुवै पक्ष सहमतिमा पुग्ने अपेक्षा गरिएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले समेत साताको सुरुआतमा क्यानडासँग सम्झौता भएको बताएका थिए । तर अन्तिम चरणमा दुवै पक्षबीचका सर्तमा सहमति जुट्न सकेन ।

    क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले वार्ता स्थगित गर्दै आफ्ना वार्ताकारलाई ओटावा फर्किन निर्देशन दिएका छन् । उनले अमेरिकी प्रस्तावमा अन्तिम समयमा गरिएका परिवर्तनहरू ‘अन्यायपूर्ण र आर्थिक रूपमा अव्यावहारिक’ भएको बताएका छन् ।

    कार्नीले अमेरिकी शुल्कको जवाफमा ‘डलर बराबर डलर’का आधारमा क्यानडाले पनि शुल्क लगाउने घोषणा गर्दै आफ्ना श्रमिक र व्यवसायको संरक्षण गरिने बताएका छन् । साथै, क्यानडाले श्रमिक तथा व्यवसायलाई थप सहयोग गर्ने तयारी गरेको छ । पछिल्लो १८ महिनामा क्यानडा सरकारले करिब २५ अर्ब डलर बराबरको सहयोग आफ्ना श्रमिक तथा व्यवसायलाई उपलब्ध गराइसकेको छ ।

    स्टिल, आल्मुनियम र गाडीमा शुल्क घटाउने प्रस्ताव

    वार्ताका क्रममा अमेरिकाले क्यानडाबाट आउने स्टिल, आल्मुनियम र गाडीमा लाग्दै आएको शुल्क घटाउने प्रस्ताव गरेको थियो । स्टिल र आल्मुनियममा हाल ५० प्रतिशत शुल्क रहेकोमा त्यसलाई आधा घटाउने विषयमा छलफल भएको थियो ।

    त्यस्तै, क्यानडाबाट आयात हुने गाडीमा हाल २५ प्रतिशत शुल्क छ । संयुक्त रूपमा अमेरिकी र क्यानडाली हाइब्रिड उत्पादनका गाडीमा भने अमेरिकी पार्टपुर्जाको मूल्यमा भने कुल शुल्क लाग्ने हिस्साबाट घटाउने प्रावधान छ । उक्त शुल्कलाई १५ प्रतिशतमा झार्ने विषयमा पनि छलफल भएको थियो ।

    तर अमेरिकी किसानका लागि महत्त्वपूर्ण विषय मानिएको डेरी उत्पादनको बजार पहुँचमा भने विवाद कायमै रह्यो । क्यानडाले अमेरिकी डेरी उत्पादनको आयातमा कोटा तोकेको छ । कोटाभन्दा बढी आयातमा अत्यधिक उच्च शुल्क लाग्ने भएकाले अमेरिकी डेरी उत्पादकको क्यानडाली बजारमा पहुँच सीमित हुँदै आएको छ ।

    द्विदेशीय व्यापार युद्धको प्रभाव कति पर्ला ?

    अहिले लागू भएको ५० प्रतिशत शुल्क क्यानडाबाट अमेरिकातर्फ आउने करिब २० अर्ब डलरका वस्तुमा केन्द्रित छ । यो गत वर्ष क्यानडाबाट अमेरिकाले आयात गरेको कुल वस्तुको मूल्यको करिब ५ प्रतिशत मात्र हो । त्यसैले तत्काल अमेरिकी उपभोक्तामा यसको ठुलो प्रभाव नपर्न सक्ने अनुमान गरिएको छ ।

    तर विज्ञहरूका लागि मुख्य चिन्ता नयाँ शुल्कको आकारभन्दा अमेरिका–क्यानडा व्यापार युद्ध पुनः सुरु हुनु हो । दुई देशबीचको व्यापारिक सम्बन्ध ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेपछि लगातार तनावपूर्ण बन्दै आएको छ ।

    ट्रम्प प्रशासनले यसअघि क्यानडाको अटोमोबाइल, स्टिल र आल्मुनियम उद्योगमा शुल्क लगाएको थियो । क्यानडाले पनि प्रतिशोधस्वरूप अमेरिकी वस्तुमा शुल्क लगाएको थियो ।

    सन् १९३० को दशकको कानुन प्रयोग गर्दै ट्रम्प

    ट्रम्प प्रशासनले शुल्क लगाउन सन् १९३० को दशकको एउटा कम चर्चित कानुन सेक्सन ३३८ प्रयोग गरिरहेको छ । यो कानुनले अमेरिकी व्यापारविरुद्ध भेदभाव भएको ठहरिएमा विदेशी वस्तुमा उच्च शुल्क लगाउन प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।

    यस कानुनअन्तर्गत लगाइने शुल्कविरुद्ध कानुनी चुनौती आउन सक्ने सम्भावना छ । तर अदालतले रोक नलगाएमा ट्रम्प प्रशासनलाई क्यानडामाथि मात्रै नभई अन्य व्यापारिक साझेदारमाथि समेत ५० प्रतिशतसम्म शुल्क लगाउने शक्तिशाली नयाँ नजिर प्राप्त हुन सक्छ ।

    यस कानुनमा शुल्कका लागि निश्चित समयसीमा नरहेको देखिन्छ । त्यसैले ट्रम्प वा भविष्यका कुनै राष्ट्रपतिले हटाउने निर्णय नगरेसम्म त्यस्ता शुल्क लामो समयसम्म कायम रहन सक्नेछन् ।

    हालको पहिलो चरणमा क्यानडाबाट आउने करिब ५०० प्रकारका वस्तु शुल्कको दायरामा परेका छन् । यद्यपि अमेरिकाले क्यानडाबाट ठुलो मात्रामा आयात गर्ने ऊर्जा, महत्त्वपूर्ण खनिज र माछालगायत केही प्रमुख वस्तुमा भने तत्काल शुल्क लगाइएको छैन । तर भविष्यमा यी वस्तु पनि शुल्कको दायरामा पर्न सक्ने सम्भावना रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ