• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    जम्मुकश्मिर हमलाबारे नेपाल- छुट्टाछुट्टै वक्तव्यमार्फत् राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रको निन्दा 

    4.1K
    SHARES



    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै वक्तव्यमार्फत् आतंकवादी आक्रमणको निन्दा गरेका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारतको पहलगाममा भएको आतंकवादी हमलामा निर्दोष नागरिकहरूको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’

    साथै उनले भनेका छन्, ‘निरपराध मानिसहरूलाई लक्षित गर्दै गरिने यस्ता हिंसात्मक कार्यहरू अत्यन्तै निन्दनीय छन् र कडाभन्दा कडा शब्दमा भर्त्सना गर्नुपर्छ ।’

    राष्ट्रपति पौडेलले आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पहलगाम आक्रमणको निन्दा गर्दै आतंकवाद विरुद्ध नेपाल भारतको साथमा रहेको जनाएका छन् ।

    प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना । नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतंकवादका कुनै पनि र सबै कार्यहरूको कडा निन्दा गर्दछ ।’

    उनले सो घटनामा एक नेपाली नागरिक पनि मारिएको समाचार पुष्टि गर्ने प्रयास भइरहेको जानकारी पनि दिएका छन् । उनले लेखेका छन्, ‘पीडितहरूमा एक नेपाली नागरिक रहेको रिपोर्ट प्रमाणित गर्न निकट समन्वय स्थापित गरिएको छ र आवश्यक सबै सहयोग प्रदान गरिने छ ।

    ’मंगलबार जम्मुकश्मिरको पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरी आतंकवादी आक्रमण हुँदा नेपालीसहित कम्तिमा २७ जना मारिएको मिडिया रिपोर्ट सार्वजनिक भएका छन् ।

    परराष्ट्र मन्त्रालयले के भन्यो ?

    परराष्ट्र मन्त्रालयले पनि भारतमा भएको आतंकवादी हमलाको भर्त्सना गरेको छ । ‘नेपालले जम्मु तथा कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूलाई लक्षित गरी गरिएको बर्बर आतंकवादी हमलाको घोर भत्र्सना गर्दछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘शोकाकुल परिवारहरूप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौं ।’

    मन्त्रालयले शोकको यस घडीमा भारत सरकार तथा भारतीय जनताप्रति नेपालले ऐक्यबद्धता प्रकट गरेको पनि उल्लेख गरेको छ । आतंकवादप्रति नेपालको अडान स्पष्ट रहेको उल्लेख गर्दै भनिएको छ, ‘नेपाल सबै प्रकारका आतंककारी कार्यहरूको कडा शब्दमा भर्त्सना गर्दछ र यस्ता जघन्य कृत्यहरू कुनै पनि आधारमा जायज हुन सक्दैनन् भन्ने दृढ विश्वास राख्दछ ।’

    दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको जनाएको छ । मृतकहरुको विवरणमा सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख छ ।

    दैनिक भाष्करका अनुसार मारिनेको संख्या २७ पुगेको छ । कतिपय मिडियाहरुले भने २४ जना मारिएको लेखेका छन् । यसअघि सन् २०१९ को फेब्रुअरीमा जम्मुकश्मिरकै पुलवामा भएको आतकंकारी आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए ।

    मंगलबारको हमलापछि राजधानी दिल्ली र मुम्बईसहित भारतभर उच्च सतर्कता अपनाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ