• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    चार कम्युनिष्ट पार्टीको संयुक्त वक्तव्य, अबको बिकल्प बैज्ञानिक समाजवादी सत्ता

    428
    SHARES



    काठमाडौँ । देशका चार वामपन्थी तथा क्रान्तिकारी धारका राजनीतिक दल र संगठनले संयुक्त वक्तव्य जारी गर्दै हालको दलाल पुँजीवादी शासन व्यवस्थालाई खारेज गर्दै वैज्ञानिक समाजवादी व्यवस्था नै नेपालको एक मात्र विकल्प भएको बताएका छन्।

    वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), नेपाल कम्युनिस्ट पार्टी, र श्रमिक जनता पार्टी नेपालले चैत २४ को अवसर पारेर संयुक्त रूपमा वक्तव्य जारी गर्दै नेपाली जनताले दशकौँदेखि गरेका आन्दोलन र संघर्षको मर्म विपरीत आजको सत्ता व्यवस्था स्थापित भएको बताएका छन्।

    वक्तव्यमा भनिएको छ, “दलाल पुँजीवादी सत्ताले जनतामाथि शोषण, उत्पीडन, पराधीनता र गरिबी थोपरेको छ। जनताले स्वतन्त्रता, समानता र समृद्धिको चाहनासहित यो सत्ताका विरुद्ध प्रतिरोध गर्दै आएका छन्।”

    वर्तमान अन्तरविरोधलाई दुरुपयोग गर्दै फेरी सामन्ती अधिनायकवादी प्रवृत्तिहरू हावी हुन खोजेको आरोप पनि वक्तव्यमा लगाइएको छ। यस्ता प्रवृत्तिलाई विकल्पका रूपमा प्रस्तुत गर्नु जनताको आन्दोलनप्रतिको घोर अपमान भएको उल्लेख गर्दै नेताहरूले भनेका छन्, “दलाल पुँजीवादको विकल्प सामन्ती अधिनायकवाद हुन सक्दैन। वैज्ञानिक समाजवादी व्यवस्था नै वैकल्पिक मार्ग हो।”

    उनीहरूले विगतमा भएको जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको उद्देश्य नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादमा रुपान्तरण हुनु रहेको दाबी गरेका छन्। सो अभियान अपुरो रहेकाले अहिले देखिएका सामाजिक र राजनीतिक अन्तरविरोध फेरि चर्किएको उनीहरूको भनाइ छ।

    वक्तव्यमा भनिएको छ, “जनतामाथि थोपारिएको विश्वासघात तोडेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु आजको ज्वलन्त आवश्यकता हो।” चार वामपन्थी पार्टीहरूले नेपाली जनतालाई वर्तमान अधिनायकवादी भ्रममा नपर्न र वैज्ञानिक समाजवाद स्थापनाको आन्दोलनमा जुट्न आह्वान गरेका छन्। साथै, देशका श्रमजीवी, उत्पीडित, मजदुर, किसान, सर्वहारा वर्ग, वामपन्थी र देशभक्त जनसमुदायलाई पनि अभियानमा सहभागी हुन अपिल गरिएको छ।

    संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने नेताहरूमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुति, नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’, नेपाल कम्युनिस्ट पार्टीका संयोजक बशन्त, र श्रमिक जनता पार्टी नेपालका अध्यक्ष दुर्गा बराइली रहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ