काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्ने जिम्मेवारी पुनः पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिलाई दिइएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उक्त समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनकुमार कार्की, र अधिकारकर्मी स्टेला तामाङ सदस्य रहेका छन्।
यसअघि, मन्त्रिपरिषद् बैठक बस्नुअघि शीर्ष नेताहरूबीच छलफल भएको थियो। छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू सहभागी थिए। उनीहरूले पुनः सिफारिस समिति बनाएर प्रक्रिया अघि बढाउने सहमति गरेका थिए।
सरकारको निर्णयअनुसार मिश्र नेतृत्वकै समितिले पदाधिकारी सिफारिस गर्ने जिम्मेवारी निरन्तरता पाउने भएपछि अब ती आयोगहरूमा रिक्त पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।
समितिमा मानव अधिकार आयोगका प्रतिनिधि रहने प्रावधानअनुसार यसअघि आयोगले सदस्य मनोज दवाडीलाई मनोनयन गरेको थियो। नयाँ प्रक्रियामा पनि आयोगले आफ्नो प्रतिनिधि पठाउनेछ।
सरकारको यो निर्णयसँगै संक्रमणकालीन न्याय प्रक्रियाले नयाँ गति लिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया