काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग चौथो मुद्दामा पनि धरौटी माग भएको छ । उनलाई लगातार जिल्ला अदालतहरूले धरौटीमा रिहा गर्ने आदेश गरेका हुन् ।
चितवन जिल्ला अदालतले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।
शुरुमा कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो भने पछिल्लो पटक बिहीबार चितवन जिल्ला अदालतले पनि धरौटी माग गरेको हो । अनुसन्धान भइरहेका स्थानमध्ये उनी विरुद्ध पर्सा जिल्लामा भने मुद्दा बाँकी नै रहेको छ।
पर्साको सानोपाइला सहकारीको ठगीमा उनी विरुद्ध अनुसन्धान चलिरहेको हो। चार वटा जिल्ला अदालतमा गरी अहिलेसम्म उनी विरुद्ध २ करोड ७९ लाख रुपैयाँ धरौटी माग भएको छ। रिहा हुन उनले धरौटी बापतको रकम वैंक ग्यारेन्टी पेस गर्दै आएका छन् ।
लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख , काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ , रुपन्देही जिल्ला अदालतले एक करोड र चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
प्रतिक्रिया