काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले गलत सङ्गत नगर्न युवाहरूलाई सुझाव दिएका छन् ।
सोमबार काठमाडौंको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झिंगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने कुराको सधैं हेक्का राख्नुपर्ने जिकिर गरे ।
‘गलत संगतमा कहिल्यै नजानुस् । गलत ठिक छैन भन्नेबित्तिकै छाडिदिनुस् । संगठन टिक गर्नुस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘झिंगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डंगुरमा पुर्याउँछ । त्यसकारण फोहोरको डंगुरमा झिंगाको साथ लाएर जान हुँदैन । पहिले हामीले छुट्याउनुपर्छ, मह जम्मा गर्ने कि किटाणु जम्मा गर्ने भनेर ।’
प्रधानमन्त्री ओलीले जुनसुकै काम गर्दा पनि आफूले ठिक गरिरहेको छु वा छैन भन्नेकुरा ध्यान दिनुपर्ने बताए । काम सुरु गर्दा नै त्यसको परीक्षण गर्नुपर्ने बताउँदै यदी उक्त काम बेठिक छ भने तुरुन्तै छाडिदिन पनि प्रधानमन्त्री ओलीले युवाहरूलाई आग्रह गरे ।
‘अहिले म पनि हरेक काम गर्दा ठिक काम त गरिरहेको छ कि छैन भनेर टेस्ट गरिराको हुन्छ । यदी ठिक छैन भने तुरुन्तै छाडिदिन्छु,’ प्रधानमन्त्री ओलीको आग्रह छ, ‘यो मैले ठिक काम गरिरहेको जस्तो लाग्दैन भने छाडिदिनुस् । ठिक छ भने निरन्तरता दिनुस् । अहिले मैले यो काम गर्न हुन्छ कि हुँदैन भनेर छुट्याउनुस् ।’
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले जीवन अनन्त नबाँचिने उल्लेख गर्दै हरेक समय मूल्यवान हुने बताए । ‘जीन्दगी अनन्त बाँचिने होइन । त्यसकारण हाम्रो जीवनको हरेक समय मूल्यवान छ,’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया