काठमाडौं । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच कनेक्सन रहेको खुलेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाँललाई बिहीबार पक्राउ गरेर काठमाडौं ल्याएको थियो । ती युवामाथि अनुसन्धान गर्दा प्रसाईंबीचको कनेक्सन खुलेको हो । सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार प्रसाईं र फुयाँलबीच पटक–पटक फोन संवाद हुने गरेको खुलेको छ ।
व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै उनीहरूबीच १०० बढी पटक फोन सम्पर्क भएको सीआईबी स्रोतले जानकारी दियो । सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले पनि उनीहरूबीच फोन सम्पर्क भएको प्रमाणहरू फेला परेको स्वीकारे ।
यसअघि सीआईबीले फुयाँललाई सार्वजनिक गर्दा पनि प्रसाईंको निर्देशनमा काम गरेको बताएको थियो । ‘भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईंको निर्देशनमा गरेको देखिन्छ,’ सीआईबीले उल्लेख गरेको थियो ।
उनले नेपालका विभिन्न जिल्लाहरूबाट घिउ लगेर भारतमा बेच्ने गरेको प्रहरी समक्ष बताएका छन् । भारतको पानीट्यांकी भन्ने ठाउँमा आफ्नो पसल समेत रहेको उनको भनाइ छ ।
फुयाँलले विश्नोईको नाम लिएर विवादास्पद मेडिकल व्यवसायी प्रसाईंसँग माफी माग्न भनेको समेत खुलेको छ । प्रसाईंसँग माफी नमागे ज्यान समेत जान सक्ने भन्दै उनले धम्की दिएका थिए । यहीबीचमा उनी र प्रसाईंबीच १०० बढी कल आदानप्रदान भएको भेटिएपछि प्रसाईंकै निर्देशनमा उनले काम गरेको सीआईबी स्रोत बताउँछ ।
केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो । प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ । उनकै निर्देशनमा धम्की दिएको खुलेपछि साइबर ब्युरोको काम सकिएपछि सीआईबी लगेर प्रसाईंमाथि अनुसन्धान अघि बढाउने तयारी सीआईबीको छ ।
यता फुयाँलले धम्की दिन नाम लिएका विश्नोई भने अहिले भारतको सबैभन्दा ठूलो तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटक–पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।
प्रतिक्रिया