काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा स्वदेश फर्किएकी छिन । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल ऋण लिन सक्ने अबस्थामा नरहेकोबारे अवगत गराएको बताएकी छन् ।
साथै उनले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताइएकी छिन् ।
उनले भनिन्, ‘बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ र अहिले यसको कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेको छ । यो नेपाल र चीनबीचको सहमति तथा समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुनेछ ।’
एक प्रश्नको जवाफमा मन्त्री डा राणाले अहिले नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेकाले चीन सरकारसँग पनि यसै विषयमा कुराकानी भएको स्पष्ट गरिन् ।
उनले भनिन्, ‘यो परियोजना अनुदानमा गर्ने भन्ने विषय नेपाली काँग्रेसले औपचारिक निर्णय नै गरिसकेको छ र यो जानकारी वर्तमान सत्ता साझेदार दल नेकपा एमालेलाई पनि छ । त्यसैले अनुदानमा नै यो परियोजनालाई अघि बढाउने विषयमा हामीले छलफलहरु गरिरहेका छौँ।’
मन्त्री राणाले नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ एवं मित्रवत सम्बन्ध रही आएको भन्दै यो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय समयमा उच्चस्तरीय भ्रमणहरुको आदानप्रदान भएको बताइन् ।
मन्त्री राणाले यस भ्रमणका क्रममा हिजो चिनियाँ विदेशमन्त्री वाङ यीसँग गरेको द्विपक्षीय भेटवार्ता सौहार्दपूर्ण रहेको पनि जानकारी दिइन् । त्यस वार्तामा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको उनको भनाई थियो ।
समकक्षी वाङसँग हिजो हार्दिक र सौहार्दपूर्ण वातावरणमा वार्ता भएको र दुबै देशमा विद्यमान अवसर र सम्भावनाहरूलाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको उनले बताइन् ।
सो वार्तामा आफूले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्वि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने धारणा राखेको र चिनियाँ विदेशमन्त्री वाङ यीले पनि उक्त धारणाप्रति चीन सरकार सकारात्मक रहेको जानकारी दिनुभएको मन्त्री डा राणाले बताइन् ।
प्रतिक्रिया